सोसल मिडिया
Contact Us
युनिकोड
भैरहवा । भैरहवामा जिल्ला स्तरीय स्नुकर खेल प्रतियोगिता भइरहेको छ । रुपन्देही सहित ३ जिल्लाका १२८ खेलाडी उपाधिका लागि प्रतिस्पर्धामा भिडिरहँदा वुटवलका एक फरक क्षमताका खेलाडी पनि वैशाखीसहित प्रतिस्पर्धामा छन । ३५ वर्षिय जमिर मिया विगत एक दशक देखि एक हातमा वैशाखी र एक हातमा स्नुकरको डण्डी बोकेर प्रतिस्पर्धामा उत्रिने गर्छन । साथीभाईहरुले खेलेको देख्दा स्नुकर प्रति आकर्शित भएको उन्को रुचि नै बन्यो । आफूले सक्छु भन्ने लागेपनि खेल खेल्न उनले पाएनन् । सक्छु भन्ने लागेकाे १२ वर्षपछि मात्रै केही गरेर देखाउँछु भन्ने अठोट लिई खेल्न सुरुवात गरे । उनी भन्छन, सुरुदेखि नै रुची भएकोले चेस र स्नुकरमा मेरो लगाव थियो । दुवै गेम इन्डोर भएकोले अहिलेसम्म खेल्दै आएको छु । शरीरिक रुपमा पनि धेरै बल नपर्ने भएकोले अहिले प्राय नियमित रुपमा नै स्नुकर खेल्दै आएको छु । परिवारबाट पनि पूर्ण सहयोग हुने गरेको छ ।' उनी भन्छन, 'पहिला पहिला स्नुकर खेलप्रति हेर्ने दृष्टिकोण फरक थियो, नकारात्मक रुपमा लिने गर्थे । तर अहिले समाजमा विस्तारै यस्को हेर्ने दृष्टिकोण फरक हुँदै गएकाे छ । अहिले अरु खेल जस्तै लिने गरेकोले यस्मामा पनि सम्भावना देखिएको उनकाे धारणा छ । हालसम्म जिल्लाका विभिन्न प्रतियोगितामा भाग लिए, तर जिल्ला बाहिर प्रतियोगीको रुपमा भाग लिन गएको छैन । रुपन्देहीमा भएको जिल्ला स्तरीय प्रतियोगितामा ५ पटक सहभागी भएको उनी सुनाउँछन । मिया भन्छन, 'इच्छा भएर नै यहाँ सम्म पुगेको छु ।' खेल्न लाएको त एक दशक भयो तर बीचमा आर्थिक अवस्थाले गर्दा केही समय विश्राम लिनु परेकाे थियाे, अहिले केही वर्षदेखि फेरी खेल्न सुरु गरेको छु उनले भने । जन्मजात पोलियोले कम्मर भन्दा तलको भाग एकतर्फको शिथिल छ र बैशाखीकै सहारामा अघि बढ्दै छु एकातर्फको खुट्टा भने ठिक छ कुराकानीका क्रममा उनले भने । फरक क्षमताको खेलाडी भएकोले पनि उनलाई प्रतियोगिताहरुमा सम्मानका साथ सहभागी गराइन्छ । परिवारबाट पूर्ण सहयोग पाएका उनलाई आयोजकहरुले पनि सम्मान दिएर प्रतियोगीका रुपमा भिडाउँछन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा अहिले भैरहवामा जारी आठौंं रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगितामा उनी सहभागी भई दुई खेल खेलेका छन् । पहिलो खेलमा जित निकाल्दै उनले दोस्रो चरणको खेलमा पराजित भए ।
तर पनि उनी निराश छैनन् । खेल हो हारजित हुन्छ तर कुनै न कुनै दिन उपाधि नै जित्छु भन्ने आट मियाकाे छ । रुपन्देही पुल तथा स्नुकर संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले जमिर नेपालकै स्नुकर खेलाडी मध्ये फरक खेलाडीको रुपमा पाएको बताए । फरक क्षमताका खेलाडी वैशाखीकै भरमा उनी अन्य प्रतिस्पर्धी जस्तै भएर घण्टौ प्रतिस्पर्धामा उत्रिन्छन । हामीले उनलाई प्रवेश शुल्क मिनाहा गरी सहभागी गराएका छौ, नेपालकै नमूना खेलाडीको रुपमा उनको परिचय रहेको खेल संयोजक थापाले बताए । खेलको विकास, प्रचार प्रसार र खेलाडीको हकहितका लागि २०६८ सालमा संघको स्थापना भएको हो । महासंघ र राष्ट्रिय खेलकुद परिषद्को सदस्य समेत रहेको संघले आहिले जिल्ला स्तरीय अठौ प्रतियोगिता गराउँदै आएको छ । १६० भन्दा बढी खेलाडी आबद्ध रहेको संघले युवा युवती कुलतमा नफसुन भनेर पनि आचारसंहिता लागू गर्दै अन्य खेल जस्तै यस्को परिचय बनाउँदै गएको छ । शरीरिक रुपमा पनि अभ्यास हुने भएको अहिले खेलप्रति धेरैको रुची बढिरहेको छ । प्रतियोगितामा सोमबार पहिलो चरणका खेलहरु सम्पन्न भई मंगलबार दोस्रो चरणको १५ वटा खेल भएको छ । भैरहवास्थित क्रेजी क्यु क्लब हाउसमा जारी प्रतियोगितामा पहिलो चरणका खेलहरु ६४ जना खेलाडीहरु बाहिरिएका छन् भने दोस्रो चरणमा ३२ जना बाहिरिने छन् । प्रतियोगितामा १२८ जना खेलाडीहरुले भाग लिएका छन् । मंगलबार फरक क्षमताका खेलाडी भनेर चिनिने जमिरसँग सुजन थापाको प्रतिस्पर्धा थियो । सुजनले ५१ को ब्रेक गर्दै २ शुन्यले खेल जिते । आयोजकले ५० भन्दा बढी ब्रेक गर्नेलाई नगद १ हजार १ सय पुरस्कारको व्यवस्था गरेको छ, जस्को प्रायोजन प्रिन्स ज्वेलर्सले गरेको छ । यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैयाँ तथा उपविजेताले नगद २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाउने छन् । यसैगरी सार्वधिक ब्रेकरले नगद १० हजार रुपैयाँ, कप पाउने खेल संयोजक थापाले बताए ।