आईएमएफले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने

बिहीबार, असोज १०, २०८१

काठमाडौँ । पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सात अर्ब डलर ऋण जारी गर्न स्वीकृति दिएको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले आइएमएफले ७ अर्ब डलर ऋण स्वीकृत गरेको जानकारी दिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् । साथै पीएमओले आईएमएफले ऋण स्वीकृतिका लागि सुझाव दिएको आर्थिक सुधारका उपायहरू कार्यान्वयन भइरहेको जनाएको छ । आर्थिक स्थायित्व हासिल गरेपछि पाकिस्तानले आर्थिक विकासको लक्ष्य हासिल गर्न कडा कदम चाल्ने बताएको छ । पाकिस्तानले कृषि कर संरचना सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू कार्यान्वयन गर्ने वाचा गरेपछि सात अर्ब डलरको ऋण स्वीकृत भएको हो । जियो न्यूजका अनुसार १.१ अर्ब डलरको यो नयाँ ऋणको पहिलो किस्ता सेप्टेम्बर ३० मा जारी हुने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर भएको छ । सन् १९५८ देखि हालसम्म पाकिस्तान २२ पटक ऋणको लागि आईएमएफमा गएको थियो । हाल पाकिस्तान आईएमएफको पाँचौं ठूलो ऋणी देश हो ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार