राष्ट्रपति पौडेलले गरे सुस्तामा झोलुंगे पुल उद्घाटन

बिहीबार, असोज १०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुंगे पुलको आज एक समारोहबिच उद्घाटन  गरेका छन् ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित सुस्ता गाउँपालिका– ५ नारायणी नदीमा मल्टिस्पान झोलुंगे  पुल निर्माण गरिएको हो । पुल उद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे ।  राष्ट्रपति पौडेलले नारायणी नदीमा बनेको झोलुंगे पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए। नेपाल सरकार, सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा ३५० परिवारको बसोवास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुंगा दुर्घटना हुँदा मानवीय क्षतिसमेत व्यहोर्नुपरेको थियो । एक हजार ५७१ मिटर लामो उक्त झोलुंगे पुल  २० करोड ९३ लाखमा निर्माण गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार