सहकारी ठगीको पैसा फिल्ममा : डुब्यो करोडौं लगानी

बिहीबार, असोज १०, २०८१
मयुर प्लाई

काठमाडौं । सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ । काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियो बनाएको र त्यसमा सहकारीको ठूलो लगानी फसेको जनाइएको छ ।  कीर्तिपुरका स्थानीय दर्शनधारीले नेपाल प्रहरीका पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारीले निर्मल बुद्धभूमि बचत तथा कृषि फार्म नै चलाएको समेत प्रतिवेदनमा उल्लेख छ सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानविन विशेष समिति गठन गरेको थियो । समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारसामु पेश भइसकेको छ । समितिले उक्त सहकारीका अध्यक्ष दर्शनधारीलाई बोलाएर सोधपुछ समेत गरेको थियो । दर्शनधारीले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ २०७७ सालको माघे संक्रान्तिमा रिलिज भएको थियो । यो फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति र करिश्माकी छोरी कविताले डेब्यु गरेका थिए । कोरोना महामारीले नौ महिनासम्म हल बन्द भएपछि खुलेको पहिलो दिनमै यो फिल्म हलमा रिलिज भएको थियो तर फिल्म बक्स अफिसमा असफल भयो । दीपेश सापकोटा निर्देशित फिल्ममा शक्ति र कवितासँगै शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सम्यक दर्शनधारी, आङतेम्बा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङ लगायतले अभिनय गरेका थिए । ‘एउटा यस्तो प्रेम कहानी’ फिल्ममा दर्शनधारीले पाँच करोड लगानी गरेको तर फिल्मले एक लाख रुपैयाँ पनि नकमाएको फिल्मका वितरक गोपाल कायस्थले अनलाइनखबरलाई बताए । ‘एक लाख पनि आएन । पाँच करोड बजेट भन्थ्यो । मैले पाँच प्रतिशत कमिसनमा फिल्म लिएको हुँ’ उनले भने, ‘मेरै कमिसन पनि उठेन ।’ फिल्मको लगानी डुब्दा समेत दर्शनधारीले आफूलाई घाटा नभएको प्रतिक्रिया दिएको कायस्थले बताए । ‘फिल्म डुबेकोसँग गुनासो छैन । फिल्मकै कारणले मैले पोखरामा जग्गा किनेको हुँ । त्यसबाट २० करोड नाफा गर्‍यौं भनेर मलाई भनेका थिए’ कायस्थले अनलाइनखबरसँग भने । दर्शनधारीले राजेश हमाल अभिनित फिल्म ‘बागमती’मा समेत ३ करोड डुबाएको वितरक कायस्थले बताए । ‘बरु बागमतीले ५–६ लाख भए पनि कमाएको थियो’ उनले भने । छोराकै लागि भनेर दर्शनधारीले २०–२२ लाख खर्च गरेर म्युजिक भिडियो बनाएको समेत उनले जनाए । ‘लामो समयदेखि मसँग सम्पर्क छैन’ प्रदर्शकको छाता संस्था चलचित्र संघका प्रथम उपाध्यक्ष समेत रहेका कायस्थले भने । प्रतिवेदन अनुसार दर्शन सहकारीको कुल पूँजी तथा दायित्व डेढ अर्बभन्दा बढी छ । उक्त रकम अपचलन गरेर सञ्चालक सम्पर्कभन्दा बाहिर गएपछि बचतकर्ता सडकमा उत्रिएका थिए । अध्यक्ष दर्शनधारीले आफ्नो हस्ताक्षरमा एक विज्ञप्ति जारी गरी संस्था अनिश्चितकालका लागि बन्द भएको भन्दै सञ्चालक सम्पर्कविहीन भएका थिए ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार