ललितपुर महानगरको आगलागी बारे सचेत गराउन सुरु गर्‍यो अभियान

नगर प्रहरी प्रमुखको कमाण्डमा १० जनाको टोली
शुक्रबार, असोज ११, २०८१

ललितपुर । ललितपुर महानगरले चाडपर्वमा हुने आगलागीका बारेमा सचेतना जगाउन अभियान सुरु गरेको छ । महानगरका नगर प्रहरी प्रमुखको कमाण्डमा १० जनाको  टोली बनाएको चाडपर्व लक्षित आगलागी सचेतना अभियानको उद्घाटन कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले उक्त जानकारी दिएका हुन् । उनले भने, ‘नागरिकलाई सचेत बनाउने काम हामीले सधैं गरिहेका छौं, चाडपर्वमा आगलागीका घटना धेरै भएको तथ्यांक भएकाले विशेष तरीकाले अभियान सुरु गरेका हौँ ।’
विपद् व्यवस्थापन र यससम्बन्धी सचेतना स्मार्ट सहरको मुख्य अवयव भएको बताउँदै फिलिपिन्सबाट अग्नि नियन्त्रक ल्याएर ललितपुरका नगर प्रहरीलाई तालिम दिएको नगर प्रमुख महर्जनले स्मरण गरे । उनले भने, ‘विपद् व्यवस्थापनमा नेपालका दुई यस ९३ नगरपालिकामध्ये एक नम्बरमा पर्ने गरी काम गर्न चाहन्छौं ।’
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सानो जस्तै लाग्ने गल्ती र असावधानीप्रति सचेत बनाउन चाडपर्व लक्षित आगलागी सचेतना अभियान सुरु गरेको बताइन् । उनले भनिन् , ‘हाम्रा संस्कार,सस्कृति र चाडपर्वमा आगो, बत्तीको प्रयोग हुन्छ, त्यसैले चाडपर्वमा विशेष अभिायन थालेका हौैं ।’
अरु समयमा पनि महानगरले नागरिकको जीउधनलाई मुख्य जिम्मेवारी ठानेर यस्ता अभियानहरु संचालन गरिरहेको धारणा राखिन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले विपद्को समयमा महानगरको  दमकलले जिल्लाभरका अन्य स्थानीय तहलाई महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद दिए ।
ललितपुर जिल्लामा ६ वटा स्थानीय तह छन् । ती मध्ये दमकल भएको स्थानीय तह ललितपुर महानगर मात्रै हो ।  उनले जिल्ला विपद् प्रतिकार्य योजना र मनसुनजन्य विपद् व्यवस्थापनमा काम गरिरहेको जानकारी गराउँदै रातिको समयमा पनि सुरक्षा निकाय तयारी अवस्थामा रहेर काम गरेको बताए । उनले चाडपर्व लक्षित सचतेना कार्यक्रम सुरु गरेकोमा धन्यवाद दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार