परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

शुक्रबार, असोज ११, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा ‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो ।  भेटका क्रममा मन्त्री डा राणाले महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले विश्वमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरिन् ।  साथै मन्त्री डा राणाले नेपाल पनि लैङ्गिक समानताका क्षेत्रमा युएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवर्धन गर्न सदैव तत्पर रहेको बताइन् । 
त्यस अवसरमा मन्त्री डा. राणाले नेपालले महिला सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, रोजगारी, उद्यमशीलता तथा अन्य आवश्यकताका क्षेत्रमा महिलाहरुलाई समान अधिकार प्रदान गरिरहेको जानकारी कार्यकारी निर्देशक बहुसलाई गराएकी थिइन् ।  भेटका क्रममा लैङ्गिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो सङ्घर्ष तथा आफ्नो सक्रिय सहभागिताका बारेमा पनि मन्त्री डा.राणाले उनलाई जानकारी गराइन् । 
आगामी दिनमा पनि लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले नेपाललाई सहयोगका साथै यस विषयमा नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको सो भेटमा मन्त्री डा राणाले बताइन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार