मानवता इतिहासकै कठिन मोडमा : परराष्ट्रमन्त्री

शुक्रबार, असोज ११, २०८१

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छिन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी  मन्त्री डा. राणाले बिहीबार सम्पन्न एसियाली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरूका मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेकी हुन्। सो बैठकमा उनले भनिन्, ‘हामीहरू अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ। एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिनप्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ। हिमालहरू पग्लिनेक्रम तीव्र बन्दै छ । हिमताल फुटेर कहाँ कतिवेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ। मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन्। असमयमै बाढीको प्रकोप बढ्दै गएको छ। मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदै छ ।’ यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरू, भूपरिवेष्टित राष्ट्रहरू तथा विश्वका अतिकम विकसित राष्ट्रहरू बढी मारमा परिरहेका मन्त्री डा. राणाको भनाइ थियो । त्यसैले यी देशहरूलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’का लागि ‘क्लाइमेट फाइनान्सिङ’ आवश्यक रहेको उनले बताइन्। यस्तो समस्यामा परेका देशहरूलाई दिगो विकासका लागि सहयोग बढाउन मन्त्री डा. राणाले आग्रह गरिन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार