राष्ट्र संघ महासभामा प्रधानमन्त्री ओलीले भने : विश्व, इतिहासकै महत्त्वपूर्ण क्षणमा रहेको छ

शुक्रबार, असोज ११, २०८१

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व इतिहासकै महत्त्वपूर्ण क्षणमा रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७९औं महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार धनी र गरिबबीचको भिन्नता, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश आजको जस्तो चर्को अवस्था कहिल्यै नभएको उल्लेख गरे । उनले मानिस र पृथ्वी दुवै जलवायु प्रकोपको संकटमा उभिएको बताए । साथै, भूराजनीतिक प्रतिद्वन्द्वी फेरि उब्जिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘हतियारहरू आदान–प्रदानका साथै सैन्य खर्च पनि बढिरहेको छ,’ उनले भने,‘आणविक द्वन्द्वको अवस्था पहिलेभन्दा ठूलो देखिन्छ ।’ प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा अर्थतन्त्र कमजोर रहेकै अवस्थामा कोभिड–१९ महामारीले पारेको असरबाट सुस्त रूपमा जुधिरहेको बताए । उनले उदारीकरण र भूमण्डलीकरणले दिनु पर्ने फाइदा उठाउनुअघि नै राष्ट्रवाद र संरक्षणवादको पुनः उदय भएको उल्लेख गरे । ‘औद्योगीकरण र आधुनिकीकरणको ३ सय वर्षको यात्रापछि पनि २१औं शताब्दीको तथाकथित हाम्रो सभ्य संसारमा धन र समृद्धि धेरैजसो उत्तरी गोलार्धका मुलुकहरूको हातमा केन्द्रित भएको तथा दक्षिण गोलार्धको पनि विशेषगरी विश्वका कम विकसित मुलुकहरूमा गरिबी र विपन्नता अत्यधिक केन्द्रित रहेको कुरा गहिरो चिन्ताको विषय हो,’ ओलीले सम्बोधनमा भने । उनले यी प्रकोपहरू पार गर्न, अर्थपूर्ण सहयोग र सहकार्यलाई बढावा दिने नेतृत्व प्रदर्शन हामीले गर्नु पर्ने प्रस्ट पारे । प्रधानमन्त्री ओलीले सामूहिक इच्छाशक्ति र एकताबद्ध कार्यबाट मात्रै हामीले गलत कुरालाई हटाएर सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युगमा प्रवेश गर्न गर्ने उल्लेख गरे । ‘हामीले ‘समिट अफ द फ्युचर मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई फेरि जोड दिएका छौँ,’ उनले भने । प्रधानमन्त्री ओलीले तीन ओटा महत्त्वपूर्ण विषय 'भविष्यको सन्धि', 'भविष्यको पुस्ताको घोषणा' र 'ग्लोबल डिजिटल कम्प्याक्ट'लाई स्वीकार गरेको पनि जानकारी दिए । उनले भने,‘हामीले वर्तमान र भावी पुस्ताको हितका लागि यी दस्तावेजहरू कार्यान्वयन गर्ने हाम्रो दृढ संकल्प प्रदर्शन गर्नुपर्छ ।’

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार