कृषि मन्त्री र कोरियाका मेयर सुनाकोठीको कृषि फर्ममा 

कृषि उत्पादन बढाउन सहयोग गर्ने प्रतिबद्धता 
शुक्रबार, असोज ११, २०८१

ललितपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसहित  कोरियाको चेरवान सहरका मेयर ली ह्युन जोनको प्रतिनिधिमण्डलले सुनाकोठीस्थित छहारी कृषि एकल महिला फर्मको अवलोकन गरेको छ । यो फर्म एकल महिलाले संचालन गरेको फर्म हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा कृषि फार्म पुगेका मन्त्री रामनाथ अधिकारी र कोरियाका मेयर ली ह्युन जोनले  फर्मले गरेको कृषि उत्पादन र समस्याका बारेमा उत्साहित हुँदै सोधखोज गरेका थिए । 
ललितपुर महानगरको निमन्त्रणामा ललितपुर आएको कोरियाली मेयरको प्रतिनिधिमण्डल बुधबार नेपाल आइपुगेको हो । कृषि क्षेत्रको विकासमा छलाङ मारेको कोरियाको चेरवन सहर र ललितपुर महानगरबीच एक महिना अघि भगिनी सम्बन्ध कायम भएको थियो । 
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिलाई प्राथमिकता दिएर एकल महिला समूहले फर्म सुरु गरेकोमा धन्यवाद दिए । उक्त फर्मलाई मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘दसैं तिहारपछि मन्त्रालय आउनुहोस्, म सक्दो सहयोग गर्छु ।’ मन्त्री अधिकारीले कोरिया र नेपालको दौत्य सम्बन्धलाई चेरवन सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्धले अझै प्रगाढ बनाउने बताए । कृषि मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि गरेका कामको बारेमा समेत उनले जानकारी दिए । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कृषि कर्ममा लाग्न युवाहरुलाई प्रेरित गर्दै महानगरले धेरै कार्यक्रम संचालन गरेको बताए । छहारी कृषि फर्मलाई ललितपुर महानगरले पनि सहयोग गर्ने प्रतिबद्धता नगरप्रमुख चिरीबाबु महर्जनले जनाए । चरेवान सहरका मेयर ली ह्युन जोनले छहारी कृषि एकल महिला फर्मले गरेको कामबाट आफू प्रभावित भएको बताए । यो फर्मलाई आफ्नो सहरले अर्थपूर्ण रुपमा सहयोग गर्ने प्रष्ट पारे ।उनले भने, ‘हामी फर्मलाई सहयोग गर्छौं, जुन अर्थपूर्ण हुन्छ , कृषि उत्पादन बढाउन त्यसले सहयोग गर्ने हाम्रो विश्वास छ ।’
छहारी कृषि एकल महिला फर्मकी अध्यक्ष सविता महर्जनले एकल महिलाले पनि आफैं केही गर्न सक्छन् भन्ने कुरा पुष्टि गर्न फर्म संचालन गरेको बताइन् । यो फर्मलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित बनाउन आफू आतुर भएको बताउँदै सहयोगका लागि अनुरोध गरिन् । अर्गानिक उत्पादनलाई जोड दिएको बताउँदै रसायनिक मलको प्रयोग नगर्दा उत्पादन कम भएको उनको भनाई थियो ।  कृषिमा उत्पादन बढाउन नयाँ प्रविधि र उन्नत जातको विउबिजन आवश्यक भएको उनले बताइन् ।  फर्म अवलोकन कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, ललितपुर महानगर वडा नं.२७ का अध्यक्ष कृष्णहरि महर्जन, वडा नं. २६ का अध्यक्ष सुरेश महर्जन उपस्थित थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार