इमेज सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली दिल्लीबाट पक्राउ

शनिबार, असोज १२, २०८१

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देव कुमारी नेपाली पक्राउ परेका छन् ।  बचतकर्ताको रकम अपचलन गरी फरार रहेका नेपाली शुक्रबार भारतको नयाँ दिल्लीबाट उनी पक्राउ परेका हुन् । उनीविरुद्ध २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल मार्फत रेड नोटिस जारी गरिएको थियो । कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष नेपाली १६ महिनादेखि फरार थिए । सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी सपरिवार सम्पर्कविहीन भएका थिए । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको छ ।  सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो ।  उनले बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा खोलेका थिए । नेपाली नै अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन हुँदै आएको थियो । दुवै जिल्लाका सयौँ शेयर सदस्य र बचतकर्ताको रकम उक्त सहकारीका सञ्चालकले अपचलन गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार