अपराध न्युनिकरणमा खेलकुदले सहयोग गर्छ : प्रहरी उपरीक्षक थापा

शनिबार, असोज १२, २०८१

पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा वोल्दै उपरीक्षक थापाले वर्तमान समयमा पोखरा खेल पर्यटनमा मात्र नभई सबै हिसावले अगाडि बढेको जानकारी पाउँदा प्रशंसनीय रहेको उल्लेख गरेका थिए । खेलकुदले व्यक्तिको शारीरिक मानसिक, स्वास्थ्य, क्षेत्रमा मात्र विकास गर्ने नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलबाट देशको पहिचान चिनाउन उल्लेख्य भुमिका निर्वाह गर्ने जानकारी गराउँदै विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउने काम गर्न र आर्थिकोपार्जनमा समेत महत्वपूर्ण भुमिका खेल्ने बताए । प्रहरी उपरीक्षक थापाले खेलको माध्यमबाट अपराध न्युनिकरणमा महत्वपूर्ण सहयोग गर्ने जानकारी गराएका थिए । उनले भने, ‘लागुऔषध तथा अपराध क्षेत्रमा युवायुवतीहरु धेरै मात्रामा फसेको छन्, खेलकुदले अपराध न्युनिकरणमा गर्न ठूलो टेवा पुग्छ । पोखरा शहर अपराध र लागुऔषधमा दोस्रो स्थानमा रहेको छ । युवाहरु जोगाउनुपर्ने अवस्था आएको छ । खेलकुद भनेको अनुशासनमा र स्वस्थ्य राख्न महन्वपूर्ण भूमिका निर्वाह गर्छ ।’ त्यसैगरी खेल क्षेत्रको विकासकोमा राज्यले मात्र नभई स्थानीय रुपबाट पनि विभिन्न क्लब, संघ संस्थाको प्रयासबाट सफल बन्न सकिने जानकारी गराउदै खेलकुदले युवालाई सवल र सक्षम बनाउन, उनिहरु भित्र रहेको क्षमता र प्रतिभा प्रस्फुटन गर्न सक्ने अपेक्षा लिएको उनको भनाई रहेको थियो । प्रहरी उपरीक्षक थापाले आफ्नो अनुभव स्मरण गर्दै ‘म स्कुल, कलेजमा भलिबल मन पर्ने खेल पनि हो र म पनि खेल्थे, आज प्रत्यक्ष भलिबल प्रतियोगिता हेर्ने अवसर मिल्यो । उत्कृष्ट प्रदर्शन लागेको देख्दा मलाई खेल्न मन लागेको महशुुस भएको छ ।’ उनले भने । पोखरा वडा नं. ४ का जनप्रतिनिधि प्रकाश कोइराला, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष एवम् जिल्ला भलिबल संघ कास्कीका पूर्व अध्यक्ष भीम पराजुली, छन्त्याल संघका केन्द्रीय सल्लाहकार एवम् कास्की जिल्ला जुडो संघका अध्यक्ष प्रथम छन्त्याल, नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष सु.धनबहादुर छन्त्याल, सचिव दलमान छन्त्याल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । अशोक थापाले सञ्चालन गरेको दोस्रो दिनको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्रका सन्चालक मनोज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।

७ खेल सकिए, समूह चरणका अन्तिम खेल हुने
पोखरा नदिपुरको छन्त्याल समाजघरमा जारी क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा आज ७ खेल सकिएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन पुरुषतर्फ ५ खेल र महिलातर्फ २ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा आँधीखोला दिल्लीले गलकोट भलिबल टिमलाई २५–२३ र २५–२० को सेटले पराजित गर्न सफल भयो । दोस्रो खेलमा टिम पर्वतले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५– २१ र २५– १७ को सेटले पराजित गर्दा तेस्रो खेलमा गलकोट भलिबल टिमले अन्नपूर्ण गाउँपालिकालाई २५–२३ र २७– २५ ले पराजित गर्याे ।
चौथो खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले नेपाल युथ स्पोर्टस क्लव जापानलाई २५–२१ र २५–२१ ले पराजित गर्दा अन्तिम खेलमा एपीएफ पोखराले आँधीखोला दिल्लीलाई २५–१८ र २५– १५ को सोझो सेटले पराजित गर्न सफल भयो । महिलातर्फ नदिपुर एफसीले अर्चलबोट भलिबल टिमलाई २–० को सेटमा पराजित गर्दा कनेक्टिङ पोखराले वाकओभर पायो । नदिपुर एफसीले अर्चलबोटलाई पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२० ले पराजित गरेको हो । टिम पोखरा खेलमा उपस्थित नभएपछि कनेक्टिङ पोखराले वाकओभर पाएको थियो । शुक्रबार समूह चरणका अन्तिम खेलहरु हुनेछन् । प्रतियोगिताको फाइलन खेल आइतबार हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले जानकारी गराए । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार