सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो । ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन् । अविरल वर्षासँगै बाढीले एउटा ग्यास बुलेट समेत बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ ।
उद्योगमन्त्रीद्धारा बाढीले बगाएको ग्यास बुलेटको निरिक्षण अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगाएपछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आयल निगमका अधिकारीसहित स्थलगत निरिक्षण गरेका छन् । शनिबार दिउँसो साढे १२ बजेतिर च्यासल पुगेर उनले निरिक्षण गरेको आयल निगमको उपनिर्देशक मनोज ठाकुरले जानकारी दिए । ‘ग्यासको बुलेट नै बगाएर स्थानीयलाई ठूलो क्षति हुनसक्ला की भनेर मन्त्रीज्यूसहितको टोलीले निरिक्षण गरेका छौं’ उनले भने, ‘यो बुलेट ग्यास उद्योगको नभई टेम्पोमा रिफिलिङ गर्ने भ्याली अटो भन्ने कम्पनीको रहेको पुष्टि भएको छ ।’
१८ टन क्षमताको बुलेटमा ६ टन ग्यास रहेको अवस्थामा बाढीले बगाएको उनले जानकारी दिए । ‘बाढीले बगाउँदा बुलेटको ढक्कनबाट ग्यास उठिरहेको दृश्य देखिएको थियो । यसरी उडेर करिब ६ टन ग्यास नष्ट भएको प्रारम्भिक अनुमान छ’ ठाकुरले भने । च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय छेउमा खाली बुलेट अड्किएर बसेको छ । पानी मत्थर भएपछि प्रहरीको सहायतामा बुलेट झिकिने उनले जानकारी दिए । मन्त्री भण्डारीसँगै वाणिज्य तथा आपूर्ती सचिव गोबिन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतलगायतको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।