‘हिड्न बाँकी बाटोहरू’ लिएर आए अर्जुनबाबु दाहाल

आइतबार, असोज १३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह ‘हिड्न बाँकी बाटोहरू’ सार्बजनिक गरेका छन् । शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहालको  कविता संग्रह हिड्न बाँकी बाटोहरूको बिमोचन गरिएको हो । लामो समय स्वास्थ्य पेसामा आबद्व भएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थपेका हुन् ।  कार्यक्रममा बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले दाहालका कवितामा सकारात्मक सोच भेटिने दाबी गरे । उनले भने,‘उहाँका कवितामा व्यङ्ग्य, विद्रोह र आलोचना जे गर्दा पनि सकारात्मक सोच भेटिन्छ, यो कविताको राम्रो पक्ष हो ।’ दाहालले कविको रूपमा आफ्नो जन्म घोषणा गरेको भन्दै यो पहिचानलाई सदैव बचाइराख्न शुभकामना समेत दिए । कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले कविले हृदयबाट नै कविता लेख्नुभएको भन्दै आफू लेखनको प्रगतीको पक्षधर भएको भन्दै शुभकामना दिए ।
समालोचक ज्ञानु अधिकारीले कविताको शीर्षकले आशावादी बोध गराउने भएपनि  कवितामा हिडिसकेका बाटाहरू आएको टिप्पणी गरिन् । यस्तै कवितामा प्रयोग भएको सरल भाषाले सामान्य पाठकले पनि सजिलै बुझ्न सक्ने बताइन् । बरिष्ठ कवि एवं साहित्यकार डा.नवराज लम्सालले दाहालले जीवनको सार कवितामा उतार्नुभएको र नेपाली साहित्य जगतमा नयाँ कविको जन्म भएको बताए ।
कवि दाहालले आफूले आफ्नो जिन्दगी भोगाइ र अब हिड्न बाँकी जिन्दगीका बाटोलाई समेटेर कविता संग्रह सार्बजनिक गरेको बताए । उनले भने,‘मैले भोगेको देखेको र मनका पीडालाई कवितामा पोखेको छु ।’ कविता लेख्नका लागि हौसला प्रदान गर्ने र सल्लाह दिने वरिष्ठ कवि लम्साल आफ्नो प्रेरणाको स्रोत भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, गायक शिव परियार, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, डा.राधाकृष्ण ढुगानालगायतले कविताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  अमर प्रकाशन गृहले बजारमा ल्याएको कवितामा कविले आजको युवाले भोगेको पीडालाई कवितामा उतार्ने प्रयास गरेका छन् । हार्ड कभर र सफ्ट कभरमा उपलब्ध कविताको मूल्य क्रमशः ५०० र २५० तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार