आमाको माया बिर्साउने ललितपुर महानगरको आइसोलेसन

दृष्टिविहीन गणेश भन्छन्, ‘साह्रै राम्रो काम गर्नुभएछ, सबैलाई धन्यवाद’
आइतबार, जेठ ३०, २०७८

ललितपुर । हुम्ला घर भएका गणेश उदास देवकोटा वर्षको दश महिना जुम्ला हुन्थे । उनी पढ्ने विद्यालय जुम्लामा थियो । वर्ष दिनमा मात्रै दुई महिना घरमा बस्थे । पढेर आएको छोरालाई आमाले घरमा असाध्यै माया गर्थिन् । ‘छोरो घर आयो’ भन्दै फुरुङ्ग हुन्थिन् । घरमा नौला खानेकुरा पाक्थे । आमाले पढाईको कुरा सोध्थिन् ।  त्यतिबेलाको झझल्को अहिले उनले ललितपुर महानगरले सञ्चालन गरेको ज्यापू समाज वृद्धाश्रमको आइसोलेसन सेन्टरमा महसुश गरिरहेका छन् । कोरोना संक्रमित भएर उनी आइसोलेसन सेन्टर आएको १० दिन भएको  रहेछ ।
‘मैले त यहाँ पढाई सकेर दुई महिना घर जाँदा आमाले गर्ने माया जस्तै पाएको छु’, दृष्टिविहीन गणेशले दिल खोलेर भने । डाक्टर, नर्सको व्यवहार त्यस्तै राम्रो ।  पौष्टिक र सन्तुलित खाजा, खाना । सफाईकर्मी र अन्य कर्मचारीको सद्भाव र मिठो बोली ।।।।।।। यस्तै यस्तै कुराले उनी पुलकिंत छन् । बिरामी हुँदा प्रायः ले परिवार र आमालाई धेरै सम्झिन्छन् । यो आइसोलेसनले परिवार र आमा बिर्साएको छ । गणेशले आइसोलेसन खोलेकोमा ललितपुर महानगर, ज्यापू समाज र सुन्दर ढोकालाई धन्यवाद दिए । प्रविधिमैत्री र अपाङ्गता मैत्री आइसोलेसन सेन्टर हुँदा गणेशलाई निकै सजिलो भएको छ । आइसोलेसन सेन्टरमा इन्टरनेटको सुविधा भएकाले उनले साहित्यकार विपी कोइरालाको उपन्यास सुम्निमा सुनिसके । हृदयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहान सुनेको पनि केही दिन भयो । सखीको वाचन अहिले सुनिरहेका छन् । ‘यूट्युबमा सर्च गरेर सुनेँ’ प्रविधिले अपाङ्गता भएकाहरुको जीवनशैली सजिलो भएको अनुभव उनको छ ।
हुम्लामा उनको परिवारका सबैजसो सदस्यलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका छन् । ‘विचरा’ कहाँ पाउनु पिसिआर टेस्ट । आइसोलेसन त परको कुरा । केही दिन अघि मात्रै परिवारको स्वास्थ्य अवस्था गणेशले मोवाइल मार्फत बुझेका थिए । हिजोआज त त्यो पनि गर्न पाएका छैनन् । उनले भने ‘केही दिन भयो फोन लागेको छैन,  हालखबर थाहा छैन ।’ गणेशलाई सुरुमा टाउको दुख्यो । ज्वरो आयो । एकपछि अर्को गर्दै कोरोनासँग मिल्ने लक्षणहरु देखापरे । उनलाई प¥यो फसाद । भंैसीपाटी बस्ने गणेशसँग पिसिआर परीक्षण गर्न पैसा थिएन । वडाअध्यक्षलाई सम्झदैं उनले भने, ‘उहाँले दिनुभयो, त्यसपछि पिसिआर गरेँ ।’
पाकेको आँखाले दृष्टि नै लग्यो
जन्मेको १० महिनामा गणेशको आँखा पाकेछ । झण्डै ३० वर्ष अघिको त्यो समय ।  औषधि सामान्य मात्रै भयो । उनलाई संसार कस्तो छ रु याद छैन । ‘जस्तो कल्पना ग¥यो त्यस्तै’ उनले छोटो उत्तर दिए । बाहिरी दृष्टि गुमाए पनि परिवारले उनलाई शिक्षाको दृष्टिबाट विमुख गराएन । शिक्षाको दृष्टिले बाहिरी दृष्टि नहुँदा खासै असर परेको छैन उनलाई । विशेष अवस्थामा विशेष व्यवस्था भने सरकारले गर्नुपर्ने उनको भनाई छ ।
उनले नेपाली विषयमा भक्तपुर शिक्षा क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । २०७१ सालमा थप शिक्षाको लागि उनी काठमाडौं आएका रहेछन्  । कर्णाली प्रदेशमा जन्मिएका उनी आफ्नै प्रदेशका विशेष काम गर्न चाहन्छन् । त्यसैले उनी एक महिना अघि सुर्खेत गएका रहेछन् । त्यहाँ उनले ‘आशाको किरण’ नामक संस्था दर्ता गएका छन् । यो सस्थाको मुख्य उद्देश्य अपाड्गता भएका बालबालिकालाई शिक्षा दिनु हो । शिक्षाको महत्व बुझेका गणेशको यो थालनीलार्ई शुभकामना ।

 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार