काठमाडौं उपत्यकामा वर्षाका सबै रेकर्ड ब्रेक

आइतबार, असोज १३, २०८१

काठमाडौं उपत्यकामा वर्षा मापन हुन थालेयताको ६ दशकमा सबैभन्दा धेरै वर्षा शनिबार रेडर्क भएको छ । बिहीबार रातिदेखि अविरल वर्षा भइरहेकामा शुक्रबार बिहान ८:४५ देखि शनिबार बिहान ८ः४५ सम्म भने अत्यधिक वर्षा मापन भएको हो । २४ घण्टामा ललितपुरको चापागाउँमा ३२३ मिलिमिटर वर्षा रेकर्ड भएसँगै काठमाडौं उपत्यकाका १७ वटै स्टेसनको रेकर्डहरू ब्रेक भएका हुन् । उपत्यकामा यसअघि २३ जुलाई २००२ मा ललितपुरको लेलेमा २८० मिमि वर्षा रेकर्ड भएको थियो । चापागाउँमा भने सोही दिन २००.५ मिमि वर्षा भएको थियो । ‘काठमाडौं र आसपासका क्षेत्रमा निकै लामो झरी पर्‍यो । उपत्यकाका नौवटा स्टेसनमा त वर्षाले रेकर्ड ब्रेक नै गरेको छ,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदीश्वर कर्माचार्यले भने, ‘उपत्यकामा क्यासमेन्ट (पानी सञ्चित हुने क्षेत्र) सानो छ, ठूलो वर्षा भएपछि बाढीमा परिणत भयो ।’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि सन् २००२ मा सबैभन्दा धेरै वर्षा १७७ मिमि भएकामा शनिबार भने २३९.७ मिमि रेकर्ड भएको छ । काठमाडौंको पानीपोखरीमा १४ जुन १९७१ मा १९८ मिमि वर्षा रेकर्ड भएकामा शनिबार २२५.२ मिमि मापन भएको छ । बुढानीलकण्ठमा १८७.३ मिमि रेकर्ड भएको छ, यहाँ यसअघि १५९ मिमि नै रेकर्ड थियो । खोकनामा २२ वर्षअघि २४९.२ मिमि रेकर्ड भएकामा शनिबार २९७.३ मिमि मापन भएर ब्रेक भएको छ । नैकापमा २४५ मिमि मापन भएको छ, यहाँ पनि २२ वर्षअघि २३५.५ मिमिको रेकर्ड थियो । नागार्जुनमा सन् २०१४ मा १४७.५ मिमि रेकर्ड भएकामा शनिबार २०५.४ मिमि मापन भएको छ । जितपुरफेदीमा सन् २०१९ मा १२८.२ मिमि मापन भएकामा शनिबार १७८.३ मिमि रेकर्ड भएको छ । नङखेलमा २२ वर्षअघि १९१.५ मिमि रेकर्ड रहेकामा शनिबार १९४.५ मिमि मापन भएको छ । 

बागमतीकेन्द्रित अत्यधिक वर्षा किन भयो ?
अत्यधिक वर्षापछि बाढीपहिरोले काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा व्यापक क्षति गरेको छ । मंगलबारबाट पूर्वी नेपालबाट सुरु भएको वर्षा पश्चिममा सुदूरपश्चिमको कैलालीसम्म पुग्ने आकलन गरिएको थियो । तर, पश्चिमबाट चलेको सुक्खा हावाले मनसुनी हावालाई धेकेलिदिँदा उपत्यका र आसपासमा क्षेत्रमा अत्यधिक वर्षा भएको हो । ‘बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको हावा सुदूरपश्चिमसम्म पुग्ने र त्यहाँ पनि कैलाली, अछामसम्म ठूलो वर्षा हुने आकलन मौसम पूर्वानुमान महाशाखाले नै गरेको थियो । तर, अफगानिस्तान, पाकिस्तान र भारतको पन्जाबमा मनसुन बाहिरने क्रममा रहकाले पश्चिमबाट सुक्खा हावा चल्यो । पूर्वबाट मनसुनी वायु पश्चिमतिर जाँदै थियो, पश्चिमतिरको सुक्खा हावाले धकेलेपछि काठमाडौं उपत्यकासहित बागमतीको वायुमण्डलमा बादल बस्यो,’ विपत् व्यवस्थापनविज्ञ धर्मराज उप्रेतीले भने, ‘दक्षिणमा बिहारदेखि उत्तर प्रदेश तथा पूर्वमा आसाम, मेघालयबाट न्यूनचापीय प्रणालीको हावाले धकेल्दा मध्य नेपाल क्षेत्रमा टकराव भएको हो ।’ यसले काठमाडौं उपत्यका मात्र होइन, चितवन, धादिङ, काभ्रे, सिन्धुपाल्चोक क्षेत्रमा अत्यधिक वर्षा भएको छ भने सुदूरपश्मिम र लुम्बिनीको पश्चिम क्षेत्रमा मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणविपरीत खासै पानी परेन । 

विषम मौसमी घटना 
विज्ञहरूले उपत्यकाको तीनदिने झरी र आसपासका क्षेत्रमा भएको लगातारको वर्षालाई विषम मौसमी घटना भनेका छन् । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदीश्वर कर्माचार्यले भने, ‘कञ्चनपुरको दोधारामा क्लाउड ब्रस्ट भएर नेपालकै रेकर्ड ब्रेक वर्षा भएको थियो । त्यसको साढे दुई महिनापछि काठमाडौं उपत्यकाका स्टेसनमा पनि रेकर्ड ब्रेक भएको छ । विश्वव्यापी तापमान वृद्धिका कारण छोटो समयमा धेरै पानी पर्नु र लामो समय खडेरी हुने घटनामा वृद्धि भइरहेका छन् । यो विषम मौसमी घटना हो ।’ कर्माचार्यले भनेझैँ गत सोमबार मात्र काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो भने जनकपुरमा ४० डिग्री सेल्सियस नाघेको थियो । असोजमा तराईमा विद्यालय बन्द गर्नुपर्ने र काठमाडौंमा एसी, पंखा चलाउनुपर्ने अवस्था आइरहेका वेला देशभर भीषण वर्षा भएको हो । फलस्वरूप शुक्रबार झापाको चन्द्रगढी विमानस्थल क्षेत्रमा ३०५ मिमि वर्षा मापन भएको थियो भने शनिबार पाल्पाको अर्चेलीमा (अप्रशोधित तथ्यांक) ३५२.२ मिमि वर्षा रेकर्ड भयो । विपत् व्यवस्थापनविज्ञ उप्रेती पनि २०–३० वर्षका रेकर्ड ब्रेक हुनुले अस्वाभाविक वर्षा मान्छन् । ‘२४ घण्टामा धेरै पानी पर्ने र त्यसपछि घाम लाग्ने वा मध्यम खालको पानी पर्ने, तर ४८ घण्टासम्म निरन्तर पानी पर्ने चरित्र हुन्छ,’ काठमाडौंमा प्रतिघण्टा १० देखि २७ मिमिसम्म पानी परेको छ । यसले रेकर्ड ब्रेक पनि गर्‍यो । यस्तो वर्षा खतरानाक हुन्छ । किनकि माटोमा पानीको मात्रा पुगिसकेको हुन्छ, जति पानी पर्छ भल, बाढीमा परिणत हुन्छ । नदीमा जान्छ र यसले ठुलो रूप लिन्छ ।’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ भने मनसुन र न्यूनचापीय प्रणाली सक्रिय भएका वेला ठुलो वर्षा भएको, तर अस्वाभाविक नरहेको बताउँछन् । ‘सन् १९९३ र २००२ मा काठमाडौंमा ठूलो पानी परेको हो, बाढी पनि आयो । तर, क्षतिका हिसाबले अहिले धेरै भयो,’ श्रेष्ठ भन्छन्, ‘बाढी आउनुमा वर्षा मात्र कारण होइन । अव्यवस्थित सहरीकरण र खोला, नदी मिचिनु अझ ठुलो कारण हो । नदीको बिचमा घर पुगिसकेका छन् ।’ राज्यले नदीलाई प्राकृतिक बहावमै बग्न दिन गुरुयोजना नै अगाडि बढाउनुपर्ने, होइन भने यस्ता घटना दोहोरिरहने उनको भनाइ छ । 

क्षति टार्न कहाँ चुक्यो सरकार ?
राज्यसंयन्त्र विपत्का घटना भइसकेपछि उद्धार–राहतमा जति सक्रिय हुन्छ, त्यति सक्रिय क्षति टार्नमा हुँदैन । अझ विपत्का सम्भावित घटना न्यूनीकरणमा पटक्कै लगानी छैन । तीनदिने झरीले काठमाडौं उपत्यका र मुलुकका अन्य क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिले प्रस्ट देखाउँछ– सरकार जहिल्यै एउटै गल्ती दोहोर्‍याउँछ । जल तथा मौसम विज्ञान विभागले भीषण वर्षा हुने र यसबाट हुन सक्ने भयावह स्थितिबारे चार दिनअघि नै पूर्वजानकारी गराएपछि राज्यसत्ताको राजनीति र प्रशासनिक संयन्त्रले गम्भीरता पूर्वक लिएनन् । फलस्वरूप, ठूलो मानवीय क्षति भएको छ । मौसम विभागले सोमबार नै विशेष बुलेटिन जारी गरेर पाँच दिन वर्षा हुने पूर्वसूचना दिएको थियो भने त्यसको भोलिपल्ट त कुन–कुन जिल्लामा धेरै पानी पर्छ भनेर उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिममा वर्गीकरण नै गरेको थियो । ‘पूर्वसूचना प्रणालीका कारण तराईमा मानवीय क्षति घटेको छ, त्यहाँ वर्षा हुने भनेपछि बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अन्यत्र सारिने गरिएको छ, गत असारमा कञ्चनपुरमा आरीघोप्टे पानी पर्दा पनि मानवीय क्षति हुन नपाउनुको कारण त्यही हो,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदीश्वर कर्माचार्यले भने, ‘विगतमा उपत्यका र पहाडमा विषम घटना कम हुन्थे, अचेल बढी हुन थालेका छन् । यसपटक रेड अलर्ट जारी भएका ५६ मध्ये पहाडी र हिमाली जिल्ला ४२ थिए । तर, सिरियस्ली लिइएन ।’ कतिसम्म भने गृहमन्त्री रमेश लेखकले विपत् जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिको बैठक बोलाउनसमेत आवश्यक ठानेनन् । किनकि कानुनद्वारा निर्देशित, तीन तहकै सरकारको प्रतिनिधित्व रहने यो समितिले नीतिगत निर्णय गर्ने अधिकार राख्छ । शुक्रबार नै बागमती नदीमा बहाव सतर्कता तहभन्दा माथि पुगिसकेपछि कम्तीमा सरकारले जोखिम आकलन भएका बस्तीका बासिन्दालाई अन्यत्र सार्न सक्थ्यो, यो काम राज्यको नीतिगत निर्णय नभई प्रहरी, सेनाले गर्न सक्ने बिल्कुलै थिएन । बाढी पूर्वानुमान महाशाखाले बाढी आउन सक्ने प्रबल सम्भावना रहेका नदीको सूची नै सार्वजनिक गरेको थियो । जब बागमतीसहितका नदीको बाढीले मान्छे बगाउन थाल्यो तब मात्र गृहमन्त्री लेखकले शुक्रबार बिहान १० बजे मात्र मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्डको बैठक डाके । विपत् व्यवस्थापनविज्ञ धर्मराज उप्रेती नख्खुमा युवाहरूले डोरीमा तरकारीको क्रेट बाँधेर उद्धार गरेको घटनाले नै राज्य हेलचेक्र्याइँ प्रस्ट हुने बताउँछन् । ‘केन्द्रदेखि पालिकासम्म विपत् व्यवस्थापन समिति छन्, समयमै पूर्वसूचना हुँदा पनि सक्रिय भएनन्,’ उनले भने, ‘काठमाडौंमा २४ घण्टामा सय मिमि पानी पर्नेबित्तिकै बाढी आउँछ भन्ने प्रस्टै छ । राज्यका सबै निकाय रहेको राजधानीमा पनि लापरबाही देखियो । अरू देशमा मौसम विभागले दिएको सूचनाको प्रभावकारी कार्यान्वयन हुन्छ । तर, हामीकहाँ एक्सनमा जाने निकाय को भन्ने नै प्रस्ट भएन, चेन अफ कमान्डमै अलमल देखियो ।’ नख्खु खोलामा बाढीको कारक भने टीकाभैरव क्षेत्रको डाँडा दोहन रहेको उनी बताउँछन् । ‘डाँडा काटेर ढुंगागिट्टी निकालिएको छ, झरीले माटोसमेत सोहरेर ल्यायो, त्यही भएर धेरै क्षति भएको हो,’ उनले भने । 

शनिबारभन्दा आज कम पानी पर्ने
मंगलबारबाट सुरु भई बिहीबार देशभर फैलिएको वर्षा प्रणाली कमजोर बनेको छ । शुक्रबार र शनिबारभन्दा आइतबार कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । ‘आइतबार केही क्षेत्रमा वर्षा हुन्छ, सोमबारबाट घमाइलो हुन्छ,’ उनले भने, ‘तर, आगामी दिनमा मौसमी प्रणाली सक्रिय हुँदैनन् भन्ने होइन ।’ महाशाखाले आइतबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भने भीषण वर्षाको सम्भावना कायमै छ । सोमबार धेरैजसो ठाउँमा मौसम सफा हुने आकलन गरिएको छ । केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार