न्यूयोर्कमा प्रधानमन्त्रीको विरोध : ‘टिप अफ द आइसवर्ग’ मात्रै

सोमबार, असोज १४, २०८१

प्रधानमन्त्री र परराष्ट्र मन्त्री संयुक्त राष्ट्रसंघको साधारण सभामा भाग लिन जानुभएको थियो । साधारण सभामा सम्बोधनका साथै केही अन्य कार्यक्रम पनि राखिएको थियो । राष्ट्रप्रमुखले साधारण सभामा सम्बोधन ‘रिचुअल’ हो । ९ दिन अमेरिका बस्ने भनिएकोले कार्यक्रम लामै थियो । प्रस्थानअघि जतिसुकै ‘प्रचारप्रसार गरिए पनि’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट एक मात्र उपलब्धिमूलक मान्नुपर्छ । प्रधानमन्त्रीको भ्रमण चाहेजति सफल हुन सकेन । न्यूयोर्क बस्ने नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम हुनै सकेन । नेपालीहरूबाटै प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको विरोध भयो । ‘फिर्ता गइहाल्’ भन्ने नारा लाग्यो । ‘सुरक्षा थ्रेट’ भनेर ‘फेस सेभ’ गरियो । ‘सुरक्षा थ्रेट’ नभई ‘सुज थ्रेट’ जस्तो वातावरण युट्यूबमा देखियो । ‘सुज थ्रेट’ अमेरिकाको राष्ट्रपति जर्ज बुश जुनियरलाई इराकमा भएकै थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालकै अनुरोधमा भेटिएको हो । भारतीय प्रधानमन्त्रीको समय नभएकोले भेट्न मुस्किल हुने जस्तो देखिए पनि पटक-पटक नेपालले अनुरोध गरेको नेपाली मिडियाबाटै देखियो । मोदीसँगको भेटले कम्तीमा नेपाल-भारत सम्बन्धमा ‘आइस ब्रेक’ भएको मान्नुपर्छ । अमेरिकी विश्वविद्यालयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीजी ‘प्राज्ञिक’ मानेर ती विश्वविद्यालयमा दीक्षित हुने विद्यार्थीको ‘कन्भोकेसन’ मा अमेरिकी विश्वविद्यालयबाट निम्तो गरिएको होइन । नेपालीहरूकै अग्रसरतामा भेटघाट तयार गरिएको हो । अन्य भेटमा राष्ट्रसंघका महासचिव गुटेरेससँगको भेट ठूलो उपलब्धि होइन । उनी त होस्ट नै भएकोले सबैसँग भेट्नु सामान्य घटना हो । अमेरिकी राष्ट्रपतिले दिएको ‘रिसेप्सन’ मा सहभागी हुनु पनि सामान्य हो । अमेरिकी राष्ट्रपतिले नेपालको प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा निम्ता गरेर रात्रिभोज दिएको होइन, सामूहिक सामान्य भेटघाट हो । सम्बोधन अंगे्रजी भाषामा नै हुनुपर्छ भन्ने थिएन । भारतका नरेन्द्र मोदीले जस्तो अनुवादक राखेर नेपालीमा सम्बोधन गरेको भए राम्रो हुनेथियो । न्यूयोर्कमा बस्ने नेपालीले प्रधानमन्त्री र परराष्ट्र मन्त्री विरुद्ध कडा शब्दमा नारा लगाएर विरोध गरेको सामाजिक सञ्जालबाट देखियो । प्रजातन्त्रमा विरोध र कालो झण्डा देखाउनु वाक् तथा प्रकाशन स्वतन्त्रताको एउटा रूप हो जुन सामान्य मानिन्छ । कालो झण्डा देखाउने भनिएको धेरै स्वदेशी मिडियाले नेपाली जनतालाई सूचित गरेनन् । प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले आयोजना गरिने हलमा जाने आँट गर्नुभएन भन्ने सामाजिक सञ्जालबाटै जानकारी पाइयो । यी घटनालाई दुई फरक दृष्टिबाट हेरियो । एकथरीको दृष्टिकोण विदेशमा विरोध गर्न नहुने भन्ने छ भने अर्कोथरीको विरोध छ । तर, वाक् तथा प्रकाशन स्वतन्त्रता भएकोले कानूनले दिन्छ भने स्वदेश, विदेश जहाँ पनि विरोध गर्न पाइन्छ भन्ने कुरामा लेखक विश्वास गर्दछ । त्यसैले न्यूयोर्कमा भएको विरोध प्रजातन्त्रकै एक उदाहरण हो । कति त दलाललाई लाखौं पैसा खुवाएर ‘अमेजोन रेन फरेस्ट’ बाट लुकीछिपी अमेरिका छिरेका हुन सक्छन् । नेपालमा सुशासन र विकास भएको भए त्यसरी पुग्नुपर्ने थिएन । यही  प्रधानमन्त्री र परराष्ट्र मन्त्री न्यूयोर्कमा ‘ह्यूमिलिएट’ भएर आउनुभयो होला । अब पनि नचेत्ने, पश्चात्ताप नगर्ने, नसुध्रिने, राजीनामा नगर्ने हो भने नेपाल बंगलादेश बन्न सक्छ। मिडियाबाट देख्दा प्रदर्शन शान्तिपूर्वक भएको देखिएकोले वाक् तथा प्रकाशन स्वतन्त्रताको प्रयोग मान्नुपर्छ । प्रदर्शन गर्ने नेपालीले न्यूयोर्कमा त्यहाँको संविधान र कानून अनुसार आफ्नो संवैधानिक हक प्रयोग गरेका हुन् । सम्बन्धित देशको कानूनले दिएकोले विरोध गर्नु ‘प्रजातान्त्रिक अधिकार’ को प्रयोग हो । यो विरोधलाई नेपाल सरकारले मात्र होइन सरकारलाई समर्थन गर्ने नेपाली कांग्रेस र एमालेकै अन्य कार्यकर्ताले गाली गर्ने होइन समर्थन गर्नुपर्छ । त्यहाँ गरिएको प्रजातान्त्रिक अभ्यास हामीले पनि सिक्नुपर्छ । नेपाल सरकारले प्रजातन्त्र भनेको कस्तो हुनुपर्छ त्यो घटनाबाट बुझ्नुपर्छ । दुवै ठूला दलले न्यूयोर्कको विरोधलाई वर्तमान सरकारप्रतिको अलोकप्रियताको जनमत मान्नुपर्छ । निष्पक्ष भएर विश्लेषण गर्ने हो भने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको विरोध किन गरे होलान् तथा विरोध गर्नाको कारणको जवाफ स्वतः पाइन्छ । भारतीय प्रधानमन्त्रीको न्यूयोर्क बस्ने भारतीयहरूले ठूलो स्वागत गरे । दक्षिणएशियाका दुई छिमेकी नेपाल र भारत हुन् । नेपाल सानो छ, भारत ठूलो । अर्थतन्त्र पनि त्यस्तै छ । वैदेशिक सम्बन्ध, सैन्य शक्ति लगायत सबै कुरामा नेपाल सानो छ । भारतभन्दा गरिब, कम विकसित पनि छ । तर न्यूयोर्क बस्ने भारतीयले आफ्नो प्रधानमन्त्रीलाई दिलैदेखि स्वागत र सम्मान गरे । फरक त्यहीं बस्ने नेपालीले दिलैदेखि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई न्यूयोर्क छाडिहाल् भन्ने नारा लगाए । यसको जवाफ खोज्ने होइन विरोधको कारण बुझ्नुपर्छ । नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक विकास गरेको छ । भारतको प्रधानमन्त्री भारतको लागि सेतो हात्ती बनेका छैनन्, देश सेवा गरेका छन् । विश्वमा चर्चित र लोकप्रिय नेता छन् । कुनै काण्डमा मुछिएका छैनन् । तर, नेपालका प्रधानमन्त्री र मन्त्रीहरू दर्जनौं काण्डमा डुबेका छन् । शक्तिको आडले मात्र बचेका छन् । सोझा नेपालीलाई भाषणबाट झुक्याएका छन्  । नेपालीलाई थाहा छ तर जेल जाने डरले बोल्न सक्दैनन् । नेपालीहरू इमानदार र स्वाभिमान जात भनेर विश्वमा चिनिन्छन् । त्यस्तो सहनशील नेपालीले अमेरिकामा पुगेका प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई ‘फिर्ता गइहाल्’ भनेर विरोध गर्नुको कारण नै नेता अनुत्पादक, दर्जनौं काण्ड र भ्रष्टाचारमा नाम आएका सेतो हात्ती बनेकोले हो । संविधान लागू भएको १० वर्ष भयो । १० वर्षमा सबभन्दा बढी शासन गर्ने प्रधानमन्त्री ओली नै हुन् । नरेन्द्र मोदीको शासनकालमा १० वर्षमा भारत कति माथि पुग्यो । तर १० वर्ष केपी ओलीको शासनमा नेपाल झन् तल गिरेको छ । अन्तर्राष्ट्रिय समुदायमा प्रधानमन्त्रीको बारेमा ट्रान्सपरेन्सी इन्टरनेशनल र फ्रान्सको ‘ले मो’ ले के भनेको छ भन्ने कुरा यहाँ उल्लेख गरेर लेखक आलो घाउमा नुन-खुर्सानी थप्न चाहँदैन । त्यही कारणले न्यूयोर्कमा नेपालीले विरोध गरेका हुन् भन्न सकिन्छ । नेपाली जनता र राजनीतिक दलले चाहे जस्तो संविधान बनेको छ । नेताहरूले चुनावमा दिएको आश्वासनमा आश, भर र विश्वास गरेर मत दिएर जिताए । गणतन्त्र आएको १५ वर्ष भयो । देशवासीले प्रत्येक दिन, महिना समुन्नतिको आश गरे । देशले विकास गर्ला, भ्रष्टाचारीहरू जेल जालान्, रोजगारी सृजना होला भन्ने आश गरे । नेताका आसेपासेको चाकडी गरेर होइन आफ्नै क्षमता र ज्ञान अनुसार योग्यताको भरमा काम पाइन्छ कि भन्ने आश गरेका थिए । तर निराशामा बित्यो । सामान्य नागरिक दिनदिनै झन्झ-न् गरिब, भोका र दुःख पाएका छन् । नेता र तिनका परिवार, आसेपासे धनी बने । आसेपासेको सिफारिस नभई सामान्य नागरिकको केही काम नै नहुने भयो । त्यसैले नेपाली युवायुवती पढ्न, कामको खोजी गर्न विदेश जानु परेको हो । न्यूयोर्कमा जसले विरोध गरे यस्तै नेपालीले विरोध गरेको हो र विरोध गर्ने कारण पनि यही मान्न सकिन्छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार