जुगलको तेगागाउँ पहिरो : बेपत्ता भनिएका ७ जना सम्पर्कमा आए

सोमबार, असोज १४, २०८१

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर-३ स्थित तेगागाउँमा पहिरोले घर बगाउँदा बेपत्ता भएका भनिएका सातै सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सोमबार बिहानै तेगामा पुगेर उद्धार गरिरहेको बताए । 'माथिल्लो तेगाको भूभाग भास्सिएर आएको पहिरोले यँहाको नौ घरमध्ये तीन घरको नामोनिसान मेटाएको छ,' एसपी खड्काले भने । उनका अनुसार पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्ण रूमा क्षति भएको छ । आहिले गाँउका स्थानीयको उद्धार गरेर सुरक्षित स्थानमा लैजाने काम भइरहेको प्रहरीले जनाएको छ । शनिबार घरसहित पहिरोमा सर्वस्व गुमाएपछि यँहाका तीन घरका स्थानीय बिचल्लीमा छन् । अन्य घरमा पनि खाद्यान्न सकिएपछि शनिबारदेखि पीडितहरू भ‍ोकभोकै बसिरहेका छन् । केही समयअघि यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाद्वारा तेम्बाथानसम्म सडक छिचोलिए पनि ठाँउपिच्छै पहिरो र खोलाले अवरुद्ध बनाएकाले बर्खायता सडक ठप्प छ । शनिबार खबर पाएलगत्तै उद्धारका लागि सुरक्षाकर्मी दुई दिन पैदल हिँडेर सोमबार पुगेका हुन् । ' त्यँहा नेटवर्क र बिजुली दुवै नभएकाले सम्पर्क गर्न सकिएको थिएन, तर आहिले सम्पर्कमा आएको सुखद खबर छ,' जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार