विपद्‌मा नेतृत्वविहीन देश

सोमबार, असोज १४, २०८१

काठमाडौं । गत वर्ष कार्तिकमा देश भूकम्पको पीडा खेपिरहेको बेला राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल जापान उडेका थिए । यसपटक पनि असोज ७ देखि नै मौसम विभागले ‘आरिघोप्टे वर्षा’ हुने र ठूलो विपद् निम्तन सक्ने भन्दै सचेत गराइरहेको बेला मुलुकको विपद् व्यवस्थापनको जिम्मेवारी बोकेका प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल शुक्रबार राति बेलायत उडेका छन् । सरकारका अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमणमा थिए । ७ असोजमा चीन पुगेका उनी नेपालमा विपद्ले चौपट मच्चाइरहँदा चीनमै रहे । उनी वर्षा रोकिएपछि आइतबार दिउँसो स्वदेश फर्किएर भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । अरु त अरु, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ बल्ल नेपाल फर्कंदैछन् । मुलुकमा यति ठूलो जनधनको क्षति हुँदा उनले स्वदेश फर्कन हतारो देखाएनन् । अचम्म त कहाँनेर छ भने नेकपा एमालेको विशाल पार्टी संरचनाभित्र कसैले पनि प्रश्न गर्न आवश्यक ठानेनन् कि ‘कमरेड ! यो एक दुई देशका प्रतिनिधिसँग हात मिलाएर फोटो खिचाउने र एक दुइटा विश्वविद्यालयमा प्रवचन दिएर बस्ने समय होइन कि ?’ संसारका सबैजसो देशले यस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । तर जुनसुकै देशका पनि जिम्मेवार नेताहरू संकटको बेला जनताबाट टाढा बस्न सक्दैनन्, नजिक आउँछन् । उनीहरुले जिम्मेवारी लिन्छन् र सक्दो क्षमता प्रयोग र परिचालन गर्छन् । नसक्दा योग्यका लागि जिम्मेवारी छोडेर नैतिकता प्रदर्शन गर्छन् । तर, हाम्रो राजनीतिक नेतृत्वले विपद्को बेला जिम्मा लिनुपर्छ भन्ने यस पटक पनि ठानेन । फुर्सदिला प्रधानमन्त्रीको प्राथमिकतामा ‘विपद्मा परेको देश’ परेन । केही नभए पनि संकटमा परेका नागरिकले आफ्नो कार्यकारी प्रमुख नजिकै छ, हाम्रो लागि केही गरिरहेको छ भन्ने अनुभूति गर्न पाएनन् । भनौं, संकटको बेला, विपद्को बेला देश नेतृत्वविहीन भयो । यस्तोमा, आम नागरिक मात्रै होइन, प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले नै प्राकृतिक प्रकोपसँग जुध्न सरकारले आवश्यक पूर्वतयारी नगरेको भनेर असन्तुष्टि जनाएको छ । स्मरणीय छ, कांग्रेसकै नेता प्रकाशमान सिंह अहिले देशको कार्यवाहक प्रधानमन्त्री छन् । आखिर नेतृत्वको सम्पूर्ण परीक्षण यस्तै संकटकै बेलामा हुने हो । सजिलो अवस्थामा त सबै ‘महान’ देखिन सक्छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार