उद्धार र राहतमा स्थानीय सरकारको हात, सम्पर्क नहुँदा पाएन साथ

सोमबार, असोज १४, २०८१

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले देशभरि प्रभावित पारेको छ । शुक्रबार र शनिबार परेको पानीबाट कोसी र बागमती प्रदेशमा धेरै क्षति भएको देखिन्छ । कोसी प्रदेशका सोलखुम्बु, पाँचथर, सुनसरी, झापा, मोरङ लगायत जिल्ला प्रभावित छन् भने बागमती प्रदेशका १३ वटै जिल्लामा प्रत्यक्ष असर परेको छ । मौसम पूर्वानुमान हुँदाहुँदै अत्यधिक परेको पानीका कारण भएको क्षति कम गर्न स्थानीय सरकार सक्रिय देखिए । पालिकाहरूले तत्काल उद्धार र राहतको काम गर्न सक्रिय हुन खोज्दा पनि सम्पर्क टुट्दा धेरै क्षति भएको जनप्रतिनिधिहरू बताउँछन् । मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा एन्फाको प्रशिक्षण शिविरमा बसेका ६ विद्यार्थीको पहिरोले पुरेर मृत्यु भयो । ‘खोलामा बाढी आएपछि सुरक्षित हुन सिस्नेरी कटेर सुरक्षित स्थानतर्फ जाने क्रममा बच्चाहरू पहिरोमा परेछन् । सम्पर्क नहुँदा लामो समय उद्धार नभएको पाइयो । तत्काल उद्धार भएको भए ज्यान जोगाउन सकिन्थ्यो कि भन्ने लाग्छ,’ गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी भन्छन् । गाउँपालिकाको सिस्नेरी बजार नै कुलेखानी ड्याम खोल्दा बगाएको उनले बताए । ‘बजारको मात्रै ३० घर बगाएको छ । ९१ घरमा पूर्णक्षति भएको छ । २ सय ७५ घरमा आंशिक क्षति भएको छ । बिजुली बन्द हुँदा क्षतिको विवरण लिन सकेका छैनौं,’ पुडासैनीले भने । उनले समयमै सम्पर्क हुन सकेको भए धेरै जनधनको क्षति नहुने अनुमान गरे । ‘कतिपय ठाउँमा सम्पर्क नहुँदा तत्काल उद्धारको काम हुन सकेन । अहिले पनि क्षतिको पूरै विवरण आइसकेको छैन,’ उनले भने । यस्तै काभ्रे रोशी गाउँपालिकामा ११ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते छन् । बीपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र छन् । गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार अहिलेसम्मकै ठूलो विपद् आइपरेको हो । ‘बिजुली नहुँदा धेरै वडासँग कुरा नै हुन सकेको छैन । भएकाको विवरण संकलन हुँदैछ,’ लामाले भने, ‘रोशीका कतिपय गाउँमा सम्पर्क हुन सकेको छैन, दुई दिनदेखि लाइन नहुँदा क्षतिबारे विवरण आउन सकेको छैन ।’

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार