विपतमा कालोबजारी

सोमबार, असोज १४, २०८१

भारी वर्षाका कारण उपत्यकाका सबै नाका ठप्प भएपछि हरियो तरकारी अभाव हुनु स्वाभाविक हो । तर, मागअनुसार आपूर्ति हुन नसकेको मौका छोपेर अचाक्ली मूल्य बढाउनु कालोबजारी हो । विपत्मा राहत दिएर ‘मल्हम’ लगाउनुपर्ने दायित्व बिर्सेर काठमाडौंका थोक तथा खुद्रा व्यवसायीले नाका ठप्प भएको मौका छोपी दैनिक उपभोग्य तरकारी, फलफूल र खाद्यान्नमा अत्यधिक मूल्यवृद्धि गरेका छन् । सबैभन्दा धेरै तरकारीमा तीन दिनमै शतप्रतिशत मूल्यवृद्धि गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो तीन दिनमा सबैभन्दा बढी खपत हुने ३४ प्रकारका हरियो तरकारीमा करिब शतप्रतिशत मूल्यवृद्धि भएको छ । काँक्रो, हरियो खुर्सानी, हरियो धनियाँ, गोलभेँडा, बन्दा, काउली, घिरौँला, इस्कुस, सबै प्रकारका साग र हरियो प्याज दोब्बरभन्दा बढी महँगिएको छ भने अन्य तरकारीको भाउ पनि करिब दोब्बर छ । बिहीबार ३१ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको स्थानीय काउली आइतबार बिहान ७५ रुपैयाँ पुगेको कालिमाटी बजारले जनाएको छ । त्यस्तै, टनेलको गोलभेँडा ४६ रुपैयाँ प्रतिकिलो रहेकोमा आइतबार ९० रुपैयाँ पुगेको छ । ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको बन्दा ७० रुपैयाँ, काउली ७५ रुपैयाँबाट बढेर १४५ रुपैयाँ पुगेको छ । ६५ रुपैयाँ प्रतिकिलोको घिरौँला १३५ रुपैयाँ र २२ रुपैयाँको इस्कुस ५५ रुपैयाँ पुगेको छ । लोकल ४२ र हाइब्रिड १७ रुपैयाँ रहेको काँक्रो आइतबार क्रमशः ११० र ३५  रुपैयाँ प्रतिकिलो पुगेको छ । हरियो खुर्सानी, धनियाँ र लसुनको भाउ पनि अचाक्ली बढेको छ । कालिमाटी बजारका अनुसार २९०, १४१ र ९५ रुपैयाँ रहेको हरियो लसुन, धनियाँ र खुर्सानी बढेर क्रमशः ३७६, ४०० र २२६ रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यस्तै, अन्य तरकारी गाँजर, बोडी, घिउसिमी, करेला, लौका, फर्सी, पिँडालु, च्याउ, चुकन्दर, पुदिना, मुलालगायतको भाउ पनि करिब शतप्रतिशत बढेको छ । कालिमाटी बजारको तथ्यांकअनुसार आलु, प्याज, मुला, पाकेको फर्सी, तामा, गुन्द्रुकलगायत छिटो नष्ट नहुने तरकारीको भाउ भने स्थिर छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने मूल्यवृद्धि स्वाभाविक भएको दाबी गरे । ‘अहिले मागअनुसार आपूर्ति हुन सकिरहेको छैन । अर्कातिर, व्यवसायीको माध्यमबाट भन्दा पनि उपत्यकाका करेसाबारीबाट तरकारी बजारमा आइरहेका छन्,’ उनले भने, ‘त्यसैले केही हदसम्म मूल्य बढ्नु स्वाभाविक हो ।’ घिमिरेले तरकारीको बढ्दो भाउ २–३ दिनमै घट्नेसमेत बताए । ‘बढेको भाउ धेरै समय टिक्दैन । चाँडै तरकारी आपूर्ति बढाइहाल्ने गृहकार्यमा जुटेका छौँ,’ उनले भने, ‘त्यसपछि मूल्यमा सुधार आइहाल्छ ।’ उनले थोक बजारमा तरकारीको भाउमा खासै अन्तर नआएको, तर खुद्रामा मनपरी बढ्दा उपभोक्ताले महँगीको सामना गर्नुपरेको उनको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार दिउँसो महँगी नियन्त्रण र अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्नेबारे छलफल भएको छ । छलफलमा एक हप्तासम्म धान्ने खाद्यान्न र पेट्रोलियम पदार्थको मौज्दात रहेकाले आतिइहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको वाणिज्य तथा आपूर्ति संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । ‘अत्यावश्यक वस्तुको नियमित आपूर्ति र मूल्य नियन्त्रणमा सरकार सजग छ,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार