महिला स्वास्थ्य स्वयम् सेविका तथा टिएचपीलाई मस्तिष्क पक्षघातबारे अभिमुखीकरण

मंगलबार, असोज १५, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडाका महिला स्वास्थ्य स्वयम् सेविका तथा टिएचपीहरूका लागि हालै मस्तिष्क पक्षधात सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरियो । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयको समन्वय तथा मस्तिस्क पक्षघात स्वाबलम्बन समूह धापाखेलको अगुवाईमा भएको उक्त जनचेतनामूलक कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयम् सेविका तथा टिएचपीहरूको सहभागिता रहेको थियो ।  जनचेतनामूलक कार्यक्रममा मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई सानो उमेरमा नै पुनस्थापनासम्बन्धी सेवाहरू पुर्‍याउनु पर्ने तथा यस्ता बालबालिकालाई कसरी राख्ने, खुवाउने, दिसा, पिसाब गराउने जस्ता आधारभूत कुराहरूबारे अभिमुखीकरण गरिएको थियो । त्यस्तै मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई कसरी परिवार, समुदाय, शैक्षिक संस्था र सामाजिक क्रियाकलापमा सहभागी बन्न सहयोग गर्ने भन्ने विषयमा पनि कार्यक्रमका सहभागीहरूलाई मस्तिस्क पक्षघात स्वाबलम्बन समूह धापाखेलका प्रतिनिधिहरूले अवगत गराएको वडा कार्यालयले जानकारी दिएको छ । 

mASKIT-`-1727753991.jpg
मस्तिष्क पक्षघात भनेको के हो ?
मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात हुने गरेको छ । संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ ।
बच्चा गर्भमा रहँदै, वा जन्मने बेला वा जन्मिसकेपछि मस्तिष्कमा हुने चोटपटकका कारण मस्तिष्क पक्षघात हुन्छ । यसले शरीरको अङ्गहरूको चाल र समन्वयमा प्रभाव पार्छ । प्रायः यस्ता व्यक्तिहरूमा मांसपेशीहरूको असाधारण खुम्चाई हुन्छ । कसै कसैमा मुर्छा पर्ने वा सुझबुझमा कम हुने वा कुराकानी राम्रो गरी बुझ्न नसक्ने हुन्छ। यो समस्याको उपाचार गरेर पनि पूर्णरुपमा निको हुँदैन ।
केही बालबालिकामा यो धेरै जटिल हुन्छ भने कसैमा सामान्य हुन्छ । जटिल समस्या हुनेहरूमा सुझबुझ नहुने देखि मुर्छा पर्ने सम्म हुन्छ। उच्च विकसित मुलुक जहाँ उच्च प्रविधियुक्त उपचार गर्न सकिन्छ, त्यस्तो ठाउँहरूमा समेत मस्तिष्क पक्षघात भएका मध्ये २५ प्रतिशत बालबालिकाहरू स्वतन्त्ररुपमा हिंडडुल गर्न सक्दैनन् । अल्पविकशित वा विकासशील मुलकहरूमा त यो प्रतिशत धेरै हुन्छ ।

mASTIK-3-1727753989.jpg
मस्तिष्क पक्षघातका कारणहरू के के हुन् ?
मस्तिष्क पक्षघातका धेरै कारणहरू हुन सक्छन् ।

गर्भावस्थामा हुने असरहरू
प्रसवमा हुने अप्ठ्याराहरू
महिना नपुगी जन्मिएका बच्चाहरू
संक्रमणहरू
वंशानुगत समस्याहरू
मस्तिष्क औलो ज्वरो
सीविएमले अफ्रिकामा गरेको काम र अनुभवको आधारमा ३ वर्ष मुनिका बालबलिकाहरूमा औलो ज्वरो मस्तिष्कपक्षघातको प्रमुख कारण हो । युगान्डामा गरिएको एक अध्यननले मस्तिष्क औलो ज्वरो भएर बाँचेका ६० प्रतिशत बालबालिकाहरूमा मस्तिष्क पक्षघात भएको छ । मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिन्छ ।

mASTIK-2-1727753989.jpg
मस्तिष्क पक्षघात कसरी रोकथाम गर्न सकिन्छ ?
प्राथमिक स्वास्थ्य सेवा प्रवर्द्धनलगायत निम्न कुराहरू गर्न सके मस्तिष्क पक्षघात रोकथाम गर्न सकिन्छ ।
परिवार नियोजन र जन्मान्तर ।
गर्भवती सेवा, उपयुक्त पोषण, खोप सेवामा पहुँचका साथै विषालु पदार्थहरूसँगको सम्पर्क कम गर्ने ।
सुरक्षित तवरले बच्चा जन्माउने
मस्तिष्क औलो ज्वरो जस्ता जटिल संक्रमणबाट नवजात शिशुहरूलाई बचाउने ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार