होटेल एभरेष्ट र बसेरालाई विभागले तिरायो तीन-तीन लाख जरिवाना

मंगलबार, असोज १५, २०८१

काठमाडौं । होटेल एभरेष्ट र बुटिक होटेल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको छ । बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ ।विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ । केही दिनअगाडि होटेल संघ नेपाल (हान)ले विभागबाट होटेलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफु मातहतका ३ सय भन्दा धेरै होटेलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार