सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षाका कारण शनिबार देशभर बाढीपहिरोको प्रकोप थियो । काठमाडौं उपत्यकाका विभिन्न स्थान जलमग्न थिए । ललितपुरको नख्खु खोलामा चार घण्टासम्म उद्धार पर्खेर बसेका पाँच जना नागरिक हेर्दाहेर्दै बगेका थिए । राजधानी नजिकै धादिङको झ्याप्ले खोलामा पहिरोले ३ वटा यात्रुबाहक बस पुर्दा उद्धार हुन सकेको थिएन । राजमार्गमै फसेका यात्रु उद्धारको पर्खाइमा थिए । राजधानी काठमाडौंलगायत देशभर नागरिकको ज्यान गइरहेको थियो । यस्तो राष्ट्रिय विपद्को बेलामा देशमा न प्रधानमन्त्री थिए, न त उद्धारमा महत्त्वपूर्ण भूमिका हुने नेपाल प्रहरीका प्रमुख नै । अर्थमन्त्री विष्णु पौडेल चीनमा थिए भने स्वदेशमै रहेका मुख्यसचिव गृहजिल्लामा सम्मान थाप्दै थिए । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा थिए । असोज ४ मा अमेरिका गएका उनी भ्रमण छोट्याएर फर्कनुभन्दा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई नीति निर्देशन दिनमै व्यस्त थिए । यता कार्यवाहक प्रधानमन्त्री सिंहले मन्त्रिपरिषद्को बैठकसमेत राख्न सकेनन् । ‘प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहकले मन्त्रिपरिषद् बैठक डाक्ने अभ्यास छैन, यसको लागि भर्चुअल बैठक भने बस्न नसकिने होइन,’ सरकारका एक अधिकारीले भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा हुँदा भर्चुअल माध्यमबाटै मन्त्रिपरिषद् बैठक गराएका थिए । यसपालि यस्तो बैठकको झन् धेरै आवश्यकता थियो, तर प्रधानमन्त्री र कार्यवाहकबीच समन्वय किन भएन, हामीलाई थाहा हुन सकेन ।’ ओली नियमित तालिकाअनुसार सोमबार मात्र स्वदेश आइपुगेका छन् । अर्थमन्त्री पौडेल आइतबार फर्केका हुन् । देशभर बाढीपहिरोको प्रकोप देखिँदा प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवर पनि विदेशमा छन् । उनी ‘इन्टरनेसनल इन्फोर्समेन्ट कन्फरेन्स’ मा सहभागी हुन असोज ६ मा ग्रिस गएका हुन् । कार्यक्रम असोज ८ देखि १० सम्म रहे पनि उनी मंगलबार मात्र फर्कंदै छन् । प्रशासनिक संयन्त्रको नेतृत्व गरिरहेका मुख्यसचिव एकनारायण अर्याल पनि बिहीबार पोखराको कार्यक्रम सकेर शुक्रबार गृहजिल्ला स्याङ्जा पुगेका थिए । पोखराको प्रदेश कार्यक्रममा भाग लिएर उनी आफू पढेको जनप्रदीप माध्यमिक विद्यालय आँधीखोला गाउँपालिका–२ मा सम्मान थापेर शनिबार बेलुका सदरमुकाम पुगेका थिए । अर्यालले आइतबार वालिङस्थित इलाका प्रशासन कार्यालयको उद्घाटन गरेको स्याङ्जाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । ‘उहाँ काठमाडौं जान हतारिनुभएको थियो । तर मौसमका कारण हेलिकोप्टर पाउन सकिएन,’ उनले भनिन् । अर्याल आइतबार साँझ मात्र राजधानी फर्केका थिए । मुख्यसचिव अर्यालले आफू निर्धारित कार्यक्रम गएको र मौसमका कारण चाहेर पनि फर्कन नपाएको बताएका छन् । ‘वर्षात् सुरु हुनुअगावै पूर्वनिर्धारित कार्यक्रमअनुसार आफू पढेको विद्यालयमा गएको हुँ । विपद् आउने गरी भारी वर्षात् हुने कुरा पहिले नै थाहा हुने विषय भएन । कार्यक्रम छोट्याएर फर्कंन खोज्दा मौसमका कारण चाहेका बेला आउन सकिनँ,’ उनले भने, ‘तर कार्यवाहक प्रधानमन्त्रीज्यूसँग निरन्तर समन्वयमा थिएँ । आफ्नो जिल्ला र आफू पढेको विद्यालय जानु मेरो के गल्ती भयो र ? मौसमको कुरा पहिल्यै कसरी थाहा हुन्छ ?’ प्रधानमन्त्री विदेश भएका बेला सामान्य अवस्थामा मन्त्रिपरिषद् बैठक डाक्ने परम्परा नभए पनि राष्ट्रिय विपद्मा भने कार्यवाहक प्रधानमन्त्रीले नै बोलाउने अभ्यास छ । २०७२ सालमा भूकम्पका बेला कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले मन्त्रिपरिषद् बैठक राखेर राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेका थिए । त्यसपछि कोशीमा बाढीपहिरो जाँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि कार्यवाहकका हैसियतमा मन्त्रिपरिषद् बैठक राखेको दाबी गरेका छन् । यस्तै देशभर बाढीपहिरोको समस्या देखिँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भने नेतृत्वविहीन छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल देश डुबानमै परेको दिन बेलायत उडेका छन् । शनिबार काठमाडौं छाडेका उनी अझै उतै छन् । कान्तिपुरसँगको सम्पर्कमा आएका प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निजी कामले जरुरी परेर आफू बेलायत आउनुपरेको बताए । उनले मन्त्री तथा सचिवलाई जानकारी गराएर एक साताको बिदा स्वीकृत गराएर आएको जानकारी दिए । आफूले सक्ने जति समन्वय बाहिरबाट पनि गरिरहेको र शनिबारसम्म नेपाल आइसक्ने उनको भनाइ छ ।