उद्धार, बेपत्ताको खोजी, राहत र सडक सञ्चालनका कार्य प्राथमिकतामा छन् : गृहमन्त्री

मंगलबार, असोज १५, २०८१

काठमाडौँ । अविरल वर्षापछिको बाढीपहिरो र डुबानपछि सरकारले उद्धार, बेपत्ताको खोजी, पीडितलाई राहत दिने र अवरुद्ध सडक सञ्चालन गर्ने कार्य प्राथमिकतामा रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम थालिसकेको उनको भनाइ थियो । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री लेखकले विपद्मा परेका नागरिकको उद्धार, बेपत्ताको खोजी, राहत र अवरुद्ध सडक खोल्ने कार्यमा केन्द्रित भएको बताएका हुन् । घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको गृहमन्त्री लेखकले जानकारी दिए । 'बेपत्ताको खोज तथा उद्धार, राहत सामग्री वितरण र सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्,' लेखकले भने । बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए । ५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै गृहमन्त्रीले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका जानकारी दिए । उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार