ज्येष्ठ नागरिककाे बैंक खाता खोल्न २३ नं. वडा कार्यालयद्धारा सहजिकरण (भिडियाे)

मंगलबार, असोज १५, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिकाले महानगरबाट उपलव्ध गराउने ७६ वर्ष नाघेका ज्येष्ठ नागरिक सम्मान स्वरुपको रकम बैंक खातामार्फत भुक्तानी गर्न बचत खाता अनिवार्य गरेपछि अहिले वडा कार्यालयहरूले बैंक खाता खोल्न सहजिकरण गरिरहेका छन् । गत असोज ७ गते महानगरपालिकाको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले एक सूचना जारी गर्दै सबै वडा कार्यालयहरूलाई बैंक खाता खोल्ने व्यवस्थापन गर्न पत्राचार गरेअनुसार वडा कार्यालयहरूले बैंक खाता खोल्न सहजिकरण गरेका हुन् । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि सम्पूर्ण वित्तिय कारोबारहरू इलोक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) विधिमार्फत गर्न व्यवस्थापन गरेपछि ज्येष्ठ नागरिक सम्मान स्वरुपको रकम बैंक खतामार्फत भुक्तानी गर्न बैंक खाता अनिवार्य भएको हो । महानगरले उपलव्ध गराउने ज्येष्ठ नागरिक सम्मान स्वरुपको रकम प्राप्तिका लागि सामाजिक सुरक्षा भत्ता खाता बाहेक जुन सुकै बैैंकको बचत खाता हुनुपर्ने महानगरपालिकाको परिपत्रले स्पष्ट गरेको छ । ‘जुनसुकै बैंकमा बचत खाता भएमा सो खाता नम्बरसहितको  विवरणसहित वा बैंकमा खाता नभएका ज्येष्ठ नागरिकहरूलाई खाता खोल्ने व्यवस्थापनका लागि’ भन्दै आर्थिक प्रशासन महाशाखाले परिपत्र गरेको थियो । सोही परिपत्रका आधारमा ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले हिजो सोमबार ज्येष्ठ नागरिकहरूको बचत खाता खोल्न सहजिकरण गरेको हो । सिद्धार्थ बैंक सातदोबाटोका दुईजना प्रतिनिधिले ज्येष्ठ नागरिकहरूको बैंक खाता खोलेका हुन् । ज्येष्ठ नागरिकहरूको बचत खाता खोल्न वडाअध्यक्ष जीवन महर्जन, वडासदस्य किरण खड्का, राजनमल्ल ठकुरी, वडासचिव महेन्द्रकुमार खड्का, सामाजिक परिचालक सावित्रा गौतम, रिजेस खड्कालगायतले  आवश्यक सहयोग गर्नु भएको थियो । ललितपुर महानगरपालिकाले ७६ वर्ष नाघेका ज्येष्ठ नागरिकहरूलाई ज्येष्ठ नागरिक सम्मान स्वरुप दशैंमा १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि प्रति वर्ष ५ हजार रुपैयाँ उपलव्ध गराउने गरी सुरु भएको यो कार्यक्रममा गत आर्थिक वर्षदेखि १० हजार रुपैयाँ पुर्‍याइएको थियो । गत वर्षसम्म वडा कार्यालयहरूले ज्येष्ठ नागरिकहरूलाई नगदै उपलव्ध गराउँदै आएका थिए । यो वर्ष  इलोक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) विधि लागू भएका कारण बैंक खाता अनिवार्य भएकाे हो । ज्येष्ठ नागरिकहरूको बचत खाता खेल्न बैंकका प्रतिनिधिहरू बिहान १० बजेदेखि २ बजेसम्म वडा कार्यालयमा उपस्थित भएका थिए । वडा नं. २३ कार्यालय धापाखेलले गत असोज १० गते एक सूचना जारी गर्दै बै‌क खाता वडा कार्यालयमै उपस्थित भएर खोल्न सकिने व्यवस्था गरिएकाे भन्दै सूचित गरेको थियो । वडा कार्यालयले उक्त सूचनमा बैंक खाता खोल्नका लागि बसाई सराई गरी आएकोको हकमा बसाई सराईको फोटोकपि, हालसालै खिचेको २ प्रति पासपार्ट साइजको फोटो तथा नागरिकताको फोटोकपि ल्याउन भनेको थियो । महानगर २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले बैैंक खाता खोल्न वडावासीलाई सहज होस् भनेर वडा कार्यालयमै बैंकका प्रतिनिधि बोलाएको जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार