सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ — हेजबुल्लाहसँगको करिब एक वर्षदेखिको युद्धपछि अन्ततः इजरायलले दक्षिणी लेबनानमा स्थलगत आक्रमण सुरु गरेको छ । इजरायली सेनाले मंगलबार दक्षिण लेबनानका सीमित र निश्चित स्थानमा स्थल कारबाही सुरु गरेको जनाएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इरानबाट समर्थनप्राप्त लेबनानी लडाकु समूह हेजबुल्लाहका भौतिक संरचनालाई लक्ष्य गर्दै सैन्य कारबाही भइरहेको जनाएको छ । हेजबुल्लाहका कारण उत्तरी इजरायलमा रहेकालाई खतरा रहेकाले आक्रमण गर्नुपरेको आईडीएफको भनाइ छ । इजरायली रक्षामन्त्री योआभ गलान्टले यसअघि आईडीएफ लेबनान छिर्न लागेको संकेत गर्दै उनले इजरायलले ‘जल, स्थल र आकाश’ तीनवटै मोर्चाबाट हेजबुल्लाहमाथि कारबाही गर्न तयार रहेको बताएका थिए । उत्तरी इजरायलमा मंगलबार बिहानैदेखि आईडीएफका ट्यांक तथा बख्तरबन्द गाडीहरू भेला भएका थिए । त्यसलगत्तै आईडीएफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्ना सैनिक लेबनानी भूमिमा प्रवेश गरेको जनाएको थियो । समाचार संस्था रोयटर्सका अनुसार लेबनानको राष्ट्रिय सेनाले आफ्नो दक्षिणी सीमाबाट सैनिकहरू पाँच किमि उत्तरतर्फ सार्न थालेका छन् । सोमबार गलान्टले हेजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या एउटा महत्त्वपूर्ण कदम भएको उल्लेख गर्दै भनेका थिए, ‘हामी जल, स्थल र आकाशबाट सबै बल प्रयोग गर्नेछौं ।’ इजरायलले दक्षिणी क्षेत्रका आफ्ना हजारौं नागरिक सुरक्षित रूपमा घर फर्कन पाउने अवस्था सिर्जना गर्ने बताउँदै आएको छ । इजरायली सेना स्थलमार्गबाटै लेबनानको भूमिमा प्रवेश गरेसँगै हेजबुल्लाहका सहायक प्रमुख शेख नाइम कसिमले आफ्नो समूहले लेबनानभित्र हुने कुनै पनि सैन्य कारबाहीको कडा प्रतिकार गर्ने बताएका छन् । कसिमले इजरायलले अहिलेसम्म ठूला आक्रमण नगरेको जनाउँदै संघर्ष धेरै लामो हुन सक्ने जनाएका बीबीसीले उल्लेख गरेको छ । गाजामा २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएपछि हेजबुल्लाहले लेबनानबाटै इजरायली भूमिमा रकेट प्रहार गर्दै आएको थियो । पछिल्लो समय इजरायलले हेजबुल्लाहलाई लक्षित गर्दै विभिन्न आक्रमणहरू गरेको छ । दुई साताअघि हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने पेजरहरू र त्यसको भोलिपल्ट वाकीटकी विस्फोट भएका थिए । ती विस्फोटमा ३७ जनाको ज्यान गएको थियो भने कम्तीमा ३ हजार ५ सय घाइते भएका थिए । ती आक्रमण इजरायली गुप्तचर निकाय ‘मोसाद’ र आईडीएफले गराएको पश्चिमा सञ्चारमाध्यमहरूले जनाएका थिए । तर गत शुक्रबारको इजरायली आक्रमणमा हेजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएपछि भने दुई पक्ष ठूलै संघर्षका लागि तयारी अवस्थामा देखिएका हुन् । आईडीएफले दक्षिणी लेबनानस्थित दहियास्थित हेजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा नसरल्लाह मारिएका थिए । आक्रमणमा हेजबुल्लाह कमान्डर मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल पनि मारिएको इजरायली सेनाले जनाएको थियो ।
सन् १९८२ मा हेजबुल्लाहमा आवद्ध नसरल्लाह मुसावीको हत्यापछि प्रमुख बनेका थिए । हेजबुल्लाहलाई राजनीतिक र सैन्य संगठनका रूपमा स्थापित गर्नका लागि उनको भूमिका उल्लेखनीय मानिन्छ । नसरल्लाहको इरानी नेता आयातोल्लाह अलि खोमेनीसँग पनि निकै राम्रो सम्बन्ध थियो । इरानका पहिलो सर्वोच्च नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले उनलाई १९८१ मा लेबनानमा इरानी प्रतिनिधि नियुक्त गरेका थिए । त्यसयता उनी निरन्तर लेबनानस्थित इरानी प्रतिनिधि थिए । नसरल्लाह मारिएको भोलिपल्ट हेजबुल्लाहका अर्का दुई नेता मारिए । आईडीएफले शनिबार गरेका आक्रमणमा हेजबुल्लाहको दक्षिणी मोर्चाका कमान्डर नबिल क्वाउक र कमान्डर अलि कराकीको ज्यान गएको थियो । क्वाउक सन् १९८० मा हेजबुल्लाह प्रवेश गरेका थिए । पछि उनी हेजबुल्लाहको दक्षिणी लेबनान क्षेत्रको प्रमुख तथा संगठनको उपप्रमुख भएका थिए । नसरल्लाह मारिएसँगै क्वाउक हेजबुल्लाह प्रमुख बन्ने अनुमान गरिएको थियो । उनी पनि आईडीएफद्वारा मारिएपछि हेजबुल्लाहको नेतृत्वको टुंगो लागेको छैन ।