सोसल मिडिया
Contact Us
युनिकोड
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा संयुक्त राज्य बेलायतको भ्रमण स्थगित गरेर अबिरल वर्षासँगको बाढीपहिरो प्रभावितको खोजउद्धार र राहतमा खटिएका छन्।सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराईसहित दलका नेताहरु एक सातादेखि बेलायत शयर गरिरहेका बेला सापकोटा भने भ्रमण रद्ध गरेर बाढीपहिरो प्रभावितको उद्धार, घाइतेको उपचार र राहतमा लागेका हुन्। आयोजकका अनुसार एमाले सांसद भट्टराई र मुख्य सचेतक बर्तौला, कांग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेल, युवा नेता डा. जितेन्द्र उपाध्याय, जसपा केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख अर्जुन थापा, उपराष्ट्रपतिका विदेश मामिला सल्लाहकार तथा जसपा विदेश विभाग सदस्य विनोदकुमार पौडेल बेलायत भ्रमणमा छन् । तर, माओवादीबाट आमन्त्रण गरिएका सापकोटा र रेखा शर्मा गएका छैनन् । सापकोटाले देशमा आइलागेको विपत्तिका कारण अन्तिम समयमा टिकट रद्ध गरेर उद्धारमा खटिएका हुन् भने शर्माका पिताको निधन भएकाले रद्ध गरेकी हुन् ।सापकोटासहित सर्वदलीय टोलीलाई १४ र १५ असोजमा इन्टरनेशनल ग्रोथ सेन्टरको संयोजनमा लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागिताका लागि आमन्त्रित गरिएको थियो । अन्य नेताहरु लण्डन प्रस्थान गरे पनि सापकोटा भने गएनन्। बिहीबारदेखि भारी वर्षासँगै मुलुक बाढीपहिरोको चपेटामा परेका कारण आफूले भ्रमण रद्ध गरेको सापकोटाले बताए। ‘बाढीपहिरोले मानिसहरु मरिरहेको र जनजीवन अस्तव्यस्त भएको अवस्थामा जहाज चढेर विदेश उड्न मन लागेन,’ उनले भने, ‘बरु यस्तो बेला निर्वाचन क्षेत्र जानुपर्छ भन्ने लागेर उद्धार र राहतको काममा खटिएँ ।’ सिन्धुपाल्चोक–१ का निर्वाचित सांसद सापकोटाले स्थानीय प्रशासन, प्रहरी, पार्टी पंक्ति र स्थानीयको परिचालनमार्फत अवरुद्ध अरनिको लोकमार्गमा मंगलबारदेखि यातायात सुचारु गराइएको बताए। ‘पुलबाहेक दुःखजिलो गरेर अरनिको राजमार्गमा गाडी गुड्न सक्ने बनाएका छौं । मंगलबारबाट सडकको अवरुद्ध मुलतः खुलेको छ’, उनले भने । जिल्लाका अरु सहायक सडकमा पनि पहिरो पन्छाएर यातायात खुलाउने काम भइरहेको सापकोटाले बताए। यस्तै नेपाल टेलिकम र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकहरुसँग समन्वय गरेर जिल्लामा अवरुद्ध टेलिफोन र विद्युत सेवा पनि सुचारु गरिएको जानकारी उनले दिए। सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी दुई कोरियान नागरिकसहित १० जनाले ज्यान गुमाए। उनीहरुको शव निकाल्ने, पोष्टमार्टम गर्ने लगायत काममा सापकोटा आफैँ सक्रिय भएर लागे । ‘१० जनाको शव निकालेर पोष्टमार्टमपछि दाहसंस्कार गरियो । दुई कोरियन र नेपाली सेनाका कर्णेलको शव काठमाडौं पठाइयो,’ उनले भने । यस्तै सापकोटाले आफ्नै पहलमा जुगल हिमालबाट एक जनाको उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएका छन् । हराएका दुईजना भने अझै भेटिएका छैनन् ।