बाढीपहिरोले घटे भारतीय पर्यटक

बुधबार, असोज १६, २०८१

नेपालमा परिरहेको अविरल वर्षा, बाढीपहिरो र दुर्घटनाको त्रासले भारतीय पर्यटक घटेका छन् । यस वर्षको सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सेप्टेम्बरमा सन् २०२४ कै सबैभन्दा कम भारतीय पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सेप्टेम्बरसँग तुलना गर्दा यस वर्ष भारतीय पर्यटकको संख्या २२ प्रतिशतले कम रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । सेप्टेम्बर २०२३ मा २८ हजार ६९४ भारतीय पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ । भारतीय पर्यटक घटेपछि कुल पर्यटक संख्यामा भारतीयको हिस्सा पनि घटेको छ । चालू वर्षकै अघिल्लो महिना अगस्टमा कुल पर्यटकमा भारतीयको हिस्सा ३५ प्रतिशत रहेकोमा सेप्टेम्बरमा घटेर २३.९ प्रतिशतमा सीमित भएको छ । ८ भदौमा तनहुँको आँबुखैरेनी– २ ऐनापहरामा भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । ४३ जना सवारमध्ये १६ जना घाइते भएका थिए । गोरखपुरबाट नेपाल आएका उनीहरू लुम्बिनी र पोखरा घुमेर काठमाडौंमा पशुपति दर्शनका लागि आउँदै गर्दा दुर्घटनामा परेका थिए । साउन र भदौमा नेपालमा थुप्रै सडक दुर्घटना भएका छन् । दुईवटा हवाई दुर्घटना भए । जसले गर्दा भारतीय पर्यटक आगमनमा असर परेको पर्यटन बोर्डका निर्देशक लामिछानेको अनुमान छ । सडक दुर्घटनाले भारतीय र हवाई दुर्घटनाले युरोप तथा अमेरिकी पश्चिमा पर्यटक आगमन प्रभावित भएको देखिन्छ । भारतीय पर्यटक घट्दा अमेरिकन पर्यटक आगमन भने बढेको देखिन्छ । सेप्टेम्बरमा अमेरिकाबाट १० हजार ८४ पर्यटक नेपाल घुम्न आएका छन् । अगस्टमा कुल पर्यटकमा अमेरिकी पर्यटकको हिस्सा ८ प्रतिशत रहेकोमा १२ प्रतिशत पुगेका छन्। एउटा हेलिकोप्टर र एउटा जहाज दुर्घटनाका कारण अगस्टमा युरोपियन र अमेरिकन पर्यटक आगमन घटेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार