बाढीले घाटघर बगाएपछि स्थानीय चिन्तित

बिहीबार, असोज १७, २०८१

महोत्तरी । २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्युपछि घाटमा चित्ता राखेर जलाउन ठिक बनाउँदा एक्कासी आएको बाढीले शव नै वेपत्ता बनाएको गाउँलेहरूले अझै बिर्सन सकेका छैनन । २०७८ सालमा समेत गाउँ कै एकजना विकको शव बगाउँदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ । भालुजोरा खोला र  टुटेश्वर खोलाको दोभानमा रहेको यो घाटमा दाहसंस्कारको लागि लैजाँदा बगाउने  क्रम निरन्तर चलेपछि २०८० सालमा स्थानीयले आफैँ तटबन्ध लगाएर एउटा घाट घर बनाएका थिए । तर  केहीदिन अगाडी आएको बाढीले यसलाई पूर्णरुपमा क्षतिग्रस्त बनायो भने तटबन्ध लगाएका ठाँउहरु बगाएर बगरमा परिणत भए । टुटेश्वर मन्दिरबाट ५ सय मिटरमाथि रहेको यो घाटलाई बर्दिवास-१०, ११ र ५ का झन्डै ११ हजार जनसंख्याले प्रयोग गर्ने गर्दछन् ।  त्यसैले बाढीले चित्तासहित निलेको आफन्तहरुको शवलाई आँखै अगाडी देखेका स्थानीयहरू उही पुरानो नियति दोहोरिने चिन्ताले अहिले सरोकारवालासँग सहयोगको अपिल गरिरहेका छन् ।

'हिन्दु परम्पराअनुसार दांहसंस्कार अनिवार्य हो तर घाट नै असुरक्षित भएपछि चित्तामा राखेको शवलाई नै खोलाले बेपत्ता बनाउँछ भने त्यो भन्दा नराम्रो के हुन् सक्ला र  ?' स्थानीय विष्णुदेव भण्डारीले प्रतिप्रश्न गर्दै भने, 'स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले यसमा गम्भीर ध्यान देओस ।' २०८० साल फागुनमा  बिष्णुदेव उपाध्यायको संयोजकत्वमा स्थानीयले चन्दा उठाएको १२ लाख र प्रदेश सरकारले दिएको १५ लाख गरी २७ लाखमा बनाएका २ वटा घाटघर र तटवन्ध बाढीले क्षतिग्रस्त वनाएकाे छ । यसरी एक बर्ष पनि नपुग्दै क्षतिग्रस्त बनेपछि पुन:निर्माण कसरी गर्ने भन्ने स्थानीयहरुमा थप चिन्ता थपिएको हो  । वडा नं.११ का लक्ष्मीप्रसाद चौलागाँई अव पुन: स्थानीयको नै चन्दाबाट निर्माण सम्भव नभएको बताउँछ्न् । 'स्थानीयले पहिले जसरी नै उठाएर बनाउन सकिने अवस्था छैन यसको लागि सरकारले हाम्रो समस्यालाई महसुस गरिदेओस', चौलागाईले भने, 'नत्र त्रास-त्रासमा नै बाच्नुपर्ने अवस्था रहन्छ ।' वडा नं १० का पूर्वअध्यक्ष धनलाल श्रेष्ठ पनि परम्पराअनुसार चल्दै आएको दाहसंस्कारलाई ढुक्क हुने वातावरण सिर्जना गरिदिन सरोकारवालाहरुलाई आग्रह गर्दछन । वैकल्पित घाट पनि नभएको हुनाले पुन: निर्माण अविलम्ब हुनुपर्ने उनकाे भनाई छ ।  

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार