मन्त्रालयको निर्देशनविपरीत ओपिडी बन्द हुँदा सेवाग्राहीलाई सास्ती

बिहीबार, असोज १७, २०८१

गत भदौ ७ को मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको मातहतका सबै संघीय अस्पतालहरूलाई भदौ १६ गते परिपत्र गरेको थियो। तर, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले मन्त्रालयको परिपत्रको अवज्ञा गर्दै बिहीबार ओपिडी बन्द गरेको छ। मन्त्रालयको परिपत्रविपरीत आज बिहीबार घटस्थापनाका दिन बिदा दिएपछि सेवाग्राही मर्कामा परेका छन्। स्वास्थ्य सेवा नै नलिई फर्कन अस्पतालले बाध्य बनाएको छ। अस्पताल बिदा दिएपछि ओपिडीमा जचाउन आएकी फूलकुमारी साह निराश भएर फर्किइन्। ढाडको नशा  च्यापिएर अस्पताल आएकी उनी त्यसै फर्किनुपर्‍याे। भदौ १८ गते विज्ञप्ति जारी गर्दै मन्त्रालयले परिपत्रको विषय सार्वजनिक गरेको थियो। विज्ञप्तिमा घटस्थापनसहित रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उँभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, क्रिसमस डे, धान्य पूर्णिमा, उँधौली, योमरी पुन्ही (ज्यापु दिवस), तमु ल्होसार, माघी– माघेस‌ंक्रान्ति, सोनम ल्होसार, महाशिवरात्रि,  ग्याल्पो ल्होसार, इद (इद उत्त फित्र) बकर इद (इद उल अजहा)मा बिदा नदिई अन्य समयजस्तै सेवा प्रवाह गर्न भनिएको थियो। त्यस्तै, गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा पनि अस्पताल बिदा नदिन परिपत्र भएको थियो। गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, जन्मजयन्ती बिदा, बुद्धजयन्ती, पृथ्वीजयन्तीका दिन सर्वसाधारणको सुविधाका लागि  स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा)समेत सञ्चालन गर्न प्रादेशिक र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थालगायत सबै अस्पताललाई आग्रह गरिएको थियो। तर, गजेन्द्रनारायण सिंह अस्पतालले मन्त्रालयको परिपत्रसमेत अवज्ञा गरेको छ। अस्पतालका मेसु डाक्टर श्रीराम तिवारीले कर्मचारी अभावको कारण आज बिदा दिएको बताए। यद्यपि, इमर्जेन्सीमा आएका बिरामीको उपचार भने भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार