महेन्द्रनगरमा पहिलोपटक शृंगारिक महाआरती

बिहीबार, असोज १७, २०८१

कञ्चनपुरको महेन्द्रनगरमा पहिलोपटक शृंगारिक महाआरती सुरु भएको छ । बडादसैँको अवसरमा भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर भगपुरको शिव ज्ञानेश्वर महादेव मन्दिरमा शृंगारिक महाआरती सुरु भएको हो । घटस्थापनाको अवसरमा शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिले दुर्गा पूजा रुद्राभिषेक तथा शृंगारिक महाआरती सञ्चालन गरेको जनाएको छ । शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिका सचिव चन्द्रकान्त भट्ट (सिके)ले हिन्दु नेपालीहरूको महान् पर्व विजयादशमी ०८१ को अवसरमा कार्यक्रम गर्न लागेको बताए । उनका अनुसार दैनिक दुर्गापूजन, रुद्राभिषेक, दुर्गा सप्तशती पाठ, नर्वाण मन्त्र जप, शृंगारिक महाआरती एवं भजन–कीर्तन गरिनेछ ।  मन्दिरको सर्वांगीण विकासदेखि धार्मिक पर्यटन प्रवर्द्धनका लागि १० दिने  शृंगारिक महाआरती गर्न लागिएको बताए । उनले सम्भवतः पहिलोपटक महाआरती गर्न लागिएको बताए। शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिका निर्वतमान अध्यक्ष लोकराज भण्डारीले महेन्द्रनगर बजार विस्तारपूर्व नै मन्दिर स्थापना गरिएको बताए । ‘यस मन्दिरमा पहिलोपटक हामीले महाआरती सञ्चालन गर्न लागेका छौँ,’ उनले भने, ‘मन्दिरको उन्नति वृद्धि विकासका लागि कार्यक्रम गर्न लागेका छौँ ।’ मन्दिर समितिका सल्लाहकार एवं अगुवा हिक्मत भण्डारीले प्राचीन मन्दिरमा पहिलोपटक लाग्ने शृंगारिक महाआरती कार्यक्रममा धर्म, संस्कृतिको रक्षा हुने बताए । शृंगारिक महाआरतीका मूल पुजारी पण्डित उमाकान्त अवस्थीले पशुपति र बनारसमा लाग्ने भव्य आरती अहिले महेन्द्रनगरमै सञ्चालन गर्न लागेको बताए । ‘शृंगारिक आरतीको बेग्लै महत्त्व हुन्छ,’ पण्डित अवस्थीले भने, ‘यस कार्यबाट धार्मिक, सांस्कृतिक महत्त्व बढ्छ ।’ सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलले साँझ औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार