सोसल मिडिया
Contact Us
युनिकोड
संखुवासभामा एक पुरुष सभाखोला तर्ने क्रममा बगेका छन्। जिल्लाको पाँचखपन नगरपालिका र खाँदबारी नगरपालिकाको बिचमा रहेको सभाखोला तर्ने क्रममा खाँदबारी नगरपालिका– ९ का ६३ वर्षीय बखतबहादुर कुमाललाई सभाखोलाले बगाई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। खाँदबारी– ९ माथिल्लोटार बस्ने बखतबहादुर र सोही ठाउँका वर्ष २२ का अमृत कुमाल माछा मार्न भनी पाँचखपन– ४ स्थित बाहुनी खोला जाने क्रममा सोही स्थानमा रहेको अर्को सभाखोला तर्ने क्रममा मंगलबार दिउँसो निजलाई बगाई बेपत्ता बनाएको प्रहरीमा खबर आएको थियो। त्यसपछि प्रहरी र स्थानीयको व्यापक खोजतलासपछि हिजाे (बुधबार) दिउँसो बखतबहादुरको शव पाँचखपन– ४ स्थित कोरन्डे भन्ने ठाउँमा भेटिएको प्रहरीले जनाएको छ। बेपत्ता बनेका बखतबहादुर खोज्न तुम्लिङटार र वाना प्रहरी कार्यालयबाट प्रहरीहरू खटिएका थिए। जिल्ला अस्पताल खाँदबारी ल्याएर पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइसकिएको प्रहरीले जनाएको छ। त्यसैगरी जिल्लाको चैनपुर नगरपालिका– ९ बेलडाँडामा स्थानीय चन्द्रबहादुर तामाङको घर आगलागी भएको छ। बुधबार दिउँसो खाबाको खुट्टा, टाटीबेरा लगाई फुसको छाना भएको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट करिब ९० हजारबराबरको क्षति भएको प्रारम्भिक अनुमान आएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय र पशुचौपायाको भने क्षति भएको छैन।