भैँसेपाटी प्रभागमा ३० लाख असुली प्रकरण : थप एकजना पक्राउ

बिहीबार, असोज १७, २०८१

बलात्कार मुद्दामा फसाइदिने भन्दै एक व्यापारीलाई थुनामा राखेर ३० लाख असुली गरी छाडिएको घटनामा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, ललितपुरले इटहरीकी भीमादेवी थापालाई पक्राउ गरेको हो। पीडितलाई थापाको खातामा २० लाख रुपैयाँ जम्मा गर्न लगाइएको थियो। उनलाई इटहरीबाटै पक्राउ गरी ललितपुर ल्याइएको छ। यसअघि सो प्रकरणमा ताज इस्लाम र सुष्मा विक पक्राउ परिसकेका छन्। यसमा प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि समेत मिलेमतोको आरोपमा अनुसन्धान भइरहेको छ। गत ७ असोजमा इटहरीका व्यापारीलाई भैँसेपाटी प्रभागमा थुनिएको थियो। थुनामा राखेपछि बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरीकै अगाडि बार्गेनिङ गरी ३० लाखमा सहमति गरेर छाडिएको थियो। जसमध्ये २० लाख खातामा र १० लाख रुपैयाँको चेक दिइएको थियो। खाताधनी भीमादेवी यसअघि पक्राउ परेका ताजनिकट युवती भएको खुलेको छ। सो खाता प्रहरीले रोक्का राखिसकेको छ। जिल्ला प्रहरी परिसर, ललितपुरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा सो घटनाको विषयमा समिति गठन गरी प्रहरीको भूमिकाको विषयमा छानबिन गरिरहेको छ। प्रारम्भिक छानबिनमै प्रहरीको मिलेमतो देखिएपछि आपराधिक समूहसँग मिलेको आरोपमा भैँसेपाटी प्रभागकी इन्स्पेक्टरलाई निलम्बनको सिफारिस गरिएको थियो। तर, अझै त्यससम्बन्धी पत्र गृह मन्त्रालय पुग्न सकेको छैन। प्रहरीविरुद्ध नै मुद्दा चल्ने आधार देखिएपछि निलम्बन र छानबिनमा समेत ढिलाइ भइरहेको स्रोत बताउँछ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार