विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो :  परराष्ट्रमन्त्री

शुक्रबार, असोज १८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छन् ।  कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू‐राजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राखिन् ।  मन्त्री डा.राणाले भनिन्, “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारणहरु विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्को यस्तै समस्या बनेको छ । एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् ।” अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नुपरिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रुपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको उनको भनाई थियो ।  मन्त्री डा.राणाले भनिन्, “हामी अझै पनि सन् २०३० सम्म पूरा गर्नुपर्ने विश्वव्यापी दिगो विकासका लक्ष्यहरु पूरा गर्न सक्ने अवस्थामा देखिएका छैनौँ । ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले पनि हामी एसियाली देशहरु भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।”   साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरु चाल्नुपर्नेमा पनि उनले जोड दिइन् ।  जलवायु परिवर्तनको असरबाट विश्वका अतिकम विकसित, भूपरिवेष्टित, साना टापू राष्ट्रहरु लगायत बढी समस्यामा परिरहेकाले तिनको समस्या समाधानका लागि विश्वका विकसित देशहरुले ध्यान दिनुपर्ने र उनीहरुले यी देशहरुलाई गर्नुपर्ने प्रतिबद्धता बमोजिमको सहयोग उपलब्ध गराउनुपर्ने बताइन् । 
यी समस्याहरु हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसिडी भिजन २०३०’ को मान्यता अनुसार अघि बढ्न एसियाली देशहरुसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उनले बताइन् ।  उनले भनिन्, “एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसङख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठेरो छैन । सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ ।”  नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रहीआएको र सन् २०१६ मा एसिडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरु पूरा गर्ने पक्षमा उभिँदै आएको पनि उनले बताइन् । भोलिका दिनमा पनि ‘एसिडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसिडीसँगै रहने उनले बताइन् ।  साथै मन्त्री डा. राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै एकता र सदभाव कायम गर्न सहयोग पुगेको धारणा पनि राखिन् ।  उनले भनिन्, “मानव सभ्यतासँगै विकास भएको खेलकुदले मानिसहरुबीच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशहरुका बीच मित्रताको वातावरणलाइ प्रवर्धन गर्न सहयोग पुर्‍याएको छ ।”  खेलकुद कूटनीतिलाई एसिडीको तेस्रो सम्मेलनको ‘थिम’का रुपमा अघि सारेकामा यसको नेतृत्वलाई धन्यवाद दिँदै एसिडी समूहको उन्नतिका लागि खेल कूटनीतिले आगामी दिनमा थप सहयोग पुर्‍याउने मन्त्री डा.राणाले बताइन् ।  उनले भनिन्, “खेलकुदले कुनै पनि व्यक्तिको सामाजिक पहिचानको निर्माण गर्दछ । खेलका माध्यमबाट सामाजिक एकता र सदभाव निर्माण हुने गरेको छ । त्यसैले एसियाली क्षेत्रको सामूहिक विकासका उद्देश्यहरु हासिल गर्नका लागि पनि खेलकुद कूटनीति अहिलेको एक सान्दर्भिक विषय हो ।” मन्त्री डा. राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने तथा खेलाडीहरुलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने सुझाव दिइन् । 
त्यसैगरी द्वन्द्व प्रभावित क्षेत्रहरूमा शान्तिका लागि सघाउन खेलकुदका कार्यक्रमहरू आयोजना गर्नुपर्ने सुझाव पनि उनको थियो । 

‘एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ’
परराष्ट्रमन्त्री डा.राणा देउवाले (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएकी छन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको सम्मेलन अन्तर्गत आयोजित एसिडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री डा.राणाले भनिन्, “अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रुपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।”  उनले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रुपमा अँगाल्नुपर्ने धारणा पनि राखिन् ।  सो विजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड न्यु बिजनेस मोडल’ विषयक सत्रमा उनले भनिन्, “आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआइ एक प्रकारको ‘गेम चेञ्जर’का रुपमा आएको छ । यसको दुरुपयोग नभई  सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।”  

aruj-rana-1727993114.jpeg
मन्त्री डा.राणाले एआइ अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षा लगायतका लागि पनि प्रभावकारी साधन बनेको बताइन् । यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पोरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्धनका लागि प्रयोग गर्नसक्ने उनको सुझाव थियो ।  कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन र सेवाहरूको विस्तारमा एआइले सहयोग पुर्‍याउने उनले बताइन् ।  यसको प्रयोगबाट बजारको विश्लेषण एवं अनुसन्धान, उत्पादनका लागि दक्षताको सुधार एवं सूचना प्रणालीमा सहयोग पुग्ने उनको भनाई थियो । 
मन्त्री डा राणाले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भएपनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गरिन् ।  कतिपय डाटा तथा तथ्याङ्कको गोपनीयता, गलत अर्थात् भ्रमपूर्ण सूचनाको प्रसार तथा रोजगारीमा आउन सक्ने गिरावटलाई यसका मुख्य चुनौतीका रुपमा लिने गरिएको उनको भनाई थियो ।   नेपाल वर्तमान संविधान जारी भएसँगै दिगो शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको भन्दै मन्त्री डा.राणाले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आह्वान पनि गरिन् ।  उनले भनिन्, “नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्न आवश्यक कानुनहरु पनि परिमार्जन गरेका छौँ । नेपाल सरकारले ऊर्जा, उत्पादन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको छ । एआइ पनि नेपालमा लगानीको एक नयाँ क्षेत्र बन्न सक्छ ।” सो बिजनेस समिटमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध नेपाली उद्योगी तथा व्यवसायीहरुसँग समन्वय गरी नेपालमा लगानीगर्न उहाँले विश्वका लगानीकर्ताहरुलाई  आग्रह गरिन् ।  उनले भनिन्, “यहाँ उपस्थित सम्पूर्ण उद्योगी, व्यवसायी एवं लगानीकर्ताहरुलाई म यो आग्रह गर्न चाहन्छु कि अहिले नेपालमा लगानीको उचित अवसर र वातावरण पनि छ । त्यसैले नेपालमा विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् ।” परराष्ट्रमन्त्री डा.राणा कतारको दोहामा आजदेखि सुरु भएको एसियन कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेकी हुन् । उनी संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी भएर मङ्गलबार दोहा पुगेकी हुन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार