केराबारी गाउँपालिकाका पूर्ववडाध्यक्ष रोहित कार्कीको क्रसरमा ज्यानमारा खाल्डो, दुई नाबालकको ज्यान लियो

शुक्रबार, असोज १८, २०८१

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुईजना नाबालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी-८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन् । उनीहरूको बुधबार दिउँसो क्रसले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरमा काम गर्ने गरेका थिए । नाबालकको ज्यान लिएको क्रसर मालिक सोही गाउँपालिका-८ का पूर्ववडाध्यक्ष रोहित कार्की हुन् । नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३:४० बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको कृष्णबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले सुरूमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो । पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो । खोजी गर्ने क्रममा रामचरणका दाजु १० वर्षीय भूपेनको शवसमेत साँझ फेला परेको कार्कीले बताए । ‘नाबालक दाजुभाइको मृत्यु एउटै खाल्डोमा डुबेर मृत्यु भएको छ,’ कार्कीले भने, ‘भाइको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।’ दाजुको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको चरम लापरबाहीले घटना भएको आरोप स्थानीयको छ । बुधबार रातिसम्म स्थानीयले विरोध गरेपछि शव उठाउन नपाइएको कार्कीले बताए । घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही नभएसम्म शव निकाल्न नदिने अडान आफन्त र स्थानीयले राखेका छन् । कार्कीका अनुसार पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान सुरू गरिएको एसपी कार्कीले बताए । स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो । गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यतिकै छाडेका कारण नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन् । खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ । भण्डारणको बीचमा रहेको खाल्डोमा नाबालकको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन् । उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् । क्रसरका मुख्य लगानीकर्ता रोहित कार्की हुन् भने उनका पार्टनर रोशन सुब्बा, विशाल खरेल छन् । कार्की नेपाली कांग्रेस पार्टीमा आवद्ध छन् । उनको क्रसरको गैरकानुनी  उत्खननमा स्थानीय प्रशासनले आँखा चिम्लिँदै आएको छ ।  यो क्रसरले जथाभावी खोलाबाट नदीजन्य वस्तु उत्खनन् गर्ने गरेको छ । जसका कारण ठूला खाल्डा बनेका छन् । स्थानीयले क्रसर हटाउनुपर्ने र सञ्चालकलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार