महिला टि–२० विश्वकपकाे उद्घाटन खेलमा पाकिस्तान विजयी 

शुक्रबार, असोज १८, २०८१

काठमाडौं । युएईको शारजाहमा जारी महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो ।   पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रहिन्, जसले ३० रन बनाउँदै टोलीलाई लडनयोग्य स्कोरसम्म पुर्‍याइन् । निदा दारले २३ तथा ओमाइमा सोहेलले १८ रन बनाइन् ।  श्रीलंकाका उदेशिका प्रभोधनी, सुगन्दिका कुमारी र कप्तान चमारी अथापथ्थुले समान ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राखेका थिए । तर, पाकिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई लक्ष्यसम्म पुग्न दिएनन् ।   श्रीलंकाको ब्याटिङमा चमारी अथापथ्थुको प्रदर्शन उल्लेखनीय रह्यो । उनले बलिङमा ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राख्न मद्दत गरे तापनि ब्याटिङमा मात्र २२ रनको योगदान दिँदै आउट भइन् । यसैगरी विष्मी गुणरत्नेले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।  पाकिस्तानका ओमैमा सोहेलले सानदार बलिङ गर्दै ३ विकेट लिइन् भने साना र इकबालले पनि समान २–२ विकेट लिए । यो जितसँगै पाकिस्तानले श्रीलंकाविरुद्ध लगातार चार खेलमा हार बेहोरेको शृंखला तोड्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

Pak-cri-1728015024.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार