प्रसूति गृहमा प्रभावकारी रक्तसञ्चार सेवा

शुक्रबार, असोज १८, २०८१

काठमाडौं । धेरै सरकारी तथा निजी अस्पतालका बिरामीलाई रगतको आवश्यकता पर्दा बिरामीको आफन्त रगत जुटाउन दौडिनुपर्ने अवस्था छ । तर अस्पतालमा रहेका बिरामीले रगत चाहिएको अवस्थामा अस्पतालबाट नै रगत पाए भने निकै सहज हुन्छ । बिरामीलाई यो सहज वातावरण सिर्जना गर्ने काम परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्दै आइरहेको छ । अस्पतालका धेरै बिरामीले रगतको व्यवस्थापनका लागि चिन्ता लिनु पर्दैन । ७० प्रतिशत बिरामीलाई आवश्यक पर्ने रगत अस्पतालमा नै उपलब्ध हुन्छ र बाँकी ३० प्रतिशत बिरामीलाई पनि रगत लिन कहाँ जाने भनेर सहजीकरण गर्ने काम अस्पतालका कर्मचारीले नै गर्छन् । प्रसूति गृहले बिरामीलाई आवश्यक पर्ने रगतको आन्तरिक व्यवस्थापन २०६४ देखि नै गर्दै आएको थियो । २०७२ सालभन्दा अघि रेडक्रस सोसाइटीसँग मिलेर रक्त सङ्कलन हुन्थ्यो । २०७२ सालको भूकम्पपछि भने रक्त सङ्कलनको काम पनि प्रसूति गृहले नै सुरु गर्‍यो । ‘अस्पतालमा कति बिरामीलाई रगतको आवश्यकता पर्न सक्छ भन्ने मूल्यांकन गरेर रगतको व्यवस्थापनमा जुट्यौं । साथै रगत सङ्कलनको लागि अस्पतालमा र बाहिर पनि रक्तदान कार्यक्रमको आयोजना गरेर अस्पतालमा आवश्यकता पर्ने रगतको व्यवस्थापन गरिएको छ’ अस्पतालका ब्लड बैङ्क इन्चार्ज परशुराम दाहाल भन्छन् । उनका अनुसार दशैं तिहार जस्ता ठूला चाडको बेलामा पनि अस्पतालबाट नै रगतको व्यवस्थापन हुन्छ । रगतका लागि बिरामीको आफन्त भौतारिनु नपर्ने भएको छ । नवजात शिशुलाई पहिलो प्राथमिकता दिएर अस्पतालबाट नै उनीहरुका लागि आवश्यक परेको रगत व्यवस्थापन हुन्छ । अस्पतालमा एउटै बिरामीलाई ५५ पोका सम्म रगत चढाइएको रेकर्ड छ । शरीरमा बग्ने रगतमा प्लाज्मा, रातो रक्तकोषिका, सेतो रक्तकोषिका र प्लेटलेट मिलेर बनेको हुन्छ । त्यसैले २०७४ सालदेखि ‘ब्लड कम्पोनेन्ट’ रगतको तत्त्व छुटाउने सेवा पनि उपलब्ध हुँदै आएको दाहाल बताउँछन् । ‘सङ्कलन भएको कुल रगतको लगभग ५५ प्रतिशत ब्लड कम्पोनेन्ट बनाउँछौं । यसरी ब्लड कम्पोनेन्ट छुटाएपछि जुन बिरामीलाई जुन तत्त्व चाहिन्छ त्यो तत्त्व दिन पाइन्छ’ उनी भन्छन्, ‘यसले बिरामीलाई धेरै सजिलो भएको छ ।’ प्रसूति गृहमा अहिले रगत क्रसम्याच गर्ने, ब्लड ग्रुप छुटाउने र एन्टिबडी स्क्रिनिङ गर्ने अत्याधुनिक मेसिन पनि उपलब्ध छ । रक्तदान गर्ने व्यक्तिमा पहिलो चरणको रगतबाट सर्ने रोग छ भने त्यो पत्ता लगाउने प्रविधि पनि छिट्टै भित्रिंदै छ । जसले रगतबाट सर्ने रोगको जोखिम घटाउँछ । अस्पतालमा मात्र हैन अस्पताल बाहिरका कोही बिरामीलाई इमरजेन्सी रगतको आवश्यकता परेको खण्डमा अस्पतालले रगत उपलब्ध गराउँछ । प्रसूति गृहको रक्तसञ्चार सेवा प्रभावकारी हुनमा अस्पतालको व्यवस्थापन, कर्मचारी, रक्तदाता सबैको उत्तिकै भूमिका रहेको अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बताउँछन् । पछिल्लो केही दिनयता डेंगुको बिरामी बढेसँगै प्लेटलेटको अभाव भइरहेको अवस्थामा प्रसूति गृहबाट डेंगुका बिरामीलाई प्लेटलेट पनि उपलब्ध गराइरहेको छ ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार