राष्ट्र बैंकले साढे दुई महिनामा तान्योे पाँच खर्ब ५० अर्ब ५५ करोड तरलता

शुक्रबार, असोज १८, २०८१

राष्ट्र बैंकले डेढ वर्षयता बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप नियमितजस्तो तानिरहेको छ । चालू आर्थिक वर्ष ०८१/८२ को साउनयता मात्रै १७ पटक गरेर पाँच खर्ब ५० अर्ब ५५ करोड रुपैयाँ निक्षेप खिचेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव ०८०/८१ मा भने ११ खर्ब ५१ अर्ब २५ करोड रुपैयाँ तानिएको थियो । राष्ट्र बैंकले यसरी तानेको रकम भने छोटो समयमै फिर्ता पठाउँछ । बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले धमाधम तरलता प्रशोचन गरिरहेको छ । चालू आवको यो अवधिमा केन्द्रीय बैंकले आठ खर्ब ६५ अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको थियो । त्यसमध्ये ६ खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ बोलकबोलको लागि पेस भएको थियो । केन्द्रीय बैंकमा निक्षेप राख्न इच्छा देखाएमध्ये पाँच खर्ब ५० अर्ब ५५ करोड रुपैयाँ मात्रै संकलन गरेको हो । संकलित निक्षेपमध्ये बुधबारसम्म दुई खर्ब ४३ अर्ब ३० करोड केन्द्रीय बैंकमा मौज्दात छ । बोलकबोलबाहेक बैंक तथा वित्तीय संस्थाले सोझै निक्षेप राख्न पाउने ‘स्थायी निक्षेप सुविधा’ पनि व्यवस्था छ । यो सुविधाबापत बैंक तथा वित्तीय संस्थाहरूले ६५ खर्ब ३८ अर्ब २५ करोडसम्म निक्षेप जम्मा गरेका थिए । तर, यो सुविधाको पैसा बैंक तथा वित्तीय संस्थाहरूले फिर्ता लगिसकेका छन् । केन्द्रीय बैंकका अनुसार साउन मसान्तसम्म कुल निक्षेप ६४ खर्ब ४७ अर्ब रुपैयाँ पुगेकोमा १४ असोजसम्म निक्षेप संकलन ६५ खर्ब ७२ अर्ब पुगेको छ । अर्थात्, करिब डेढ महिनाको अवधिमा एक खर्ब २५ अर्बले निक्षेप संकलन बढेको छ । तर, यसबिच ७५ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । साउन मसान्तसम्म ५१ खर्ब ७३ अर्ब कुल कर्जा प्रवाह रहेकोमा १४ असोजसम्म ५२ खर्ब ४८ अर्ब कर्जा पुगेको छ । यसले निक्षेपको तुलनामा कर्जा प्रवाह सुस्त रहेको देखिन्छ । गत आव ०८०/८१ मा स्थायी निक्षेप सुविधामार्फत ३५ खर्ब २२ अर्ब ३५ करोड रुपैयाँ र निक्षेप संकलन बोलकबोलमार्फत ११ खर्ब ५१ अर्ब २५ करोड गरी कुल ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार