कसरी मापन हुन्छ ‘भिजिबिलिटी’ ?

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ । शनिबार आएको बाढीले ललितपुरको नख्खु खोला छेउको सुगम बस्ती नै जलमग्न बन्यो । बाढीले बिहान ५ बजेदेखि नै जस्ताको छाप्रोलाई घेरेपछि रौतहट घर भएका राजु साहसहित उनका दुई छोरी, भाइ र एक पाहुना गरी ५ जना ४ घण्टासम्म उद्धारको प्रतीक्षामा रहँदा पनि राज्यका कुनै पनि संयन्त्र मद्दतका लागि पुगेनन् । उर्लंदो बाढीको भेलले बिहान ९ बजे आसपास जब उनीहरू आश्रित जस्ताको छाप्रोलाई छेड्यो, आफ्नै बलबुताले पौडिँदै तीन जना छेउ लागे भने दुई जना नख्खु खोलामा हेलिँदै बेपत्ता भए । उद्धारपछि राजुले पाटन अस्पतालबाट सञ्चारमाध्यमहरूमा दिएको अन्तर्वार्ताअनुसार, उनकी ५ वर्षीया छोरी सेतु र ओखलढुंगा घर भएका उनका साथी देवराज कार्की अझै बेपत्ता छन् । दुई वर्षदेखि नख्खुमा आफ्नै ग्रिल कारखाना सञ्चालन गरिरहेका राजु, उनका भाइ राज र जेठी छोरी मेघना भने जोगिन सफल भए । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको त्यो घटनामा सरकारले न त सैनिक हेलिकोप्टर न त निजी हेलिकोप्टर नै पठाउन सक्यो, न राफ्टिङमा सिपालु उद्धारकर्ता नै घटनास्थलमा पुगे । राजधानीभित्रै भएको उक्त घटना विपद् व्यवस्थापनका हिसाबले विडम्बनापूर्ण रह्यो । गुहार मागिरहेका सर्वसाधारणको घण्टौंसम्म पनि उद्धार हुन नसक्दा गृहमन्त्री रमेश लेखक र उद्धारका लागि हेलिकोप्टर पठाउन नसकेकोमा सरकारको निकै आलोचना भयो । सञ्चारमाध्यमदेखि सर्वदलीय संयन्त्रको बैठकहरूमा गृहमन्त्री लेखकले ‘त्यतिबेला सेनाको हेलिकोप्टर उडाउने भिजिबिलिटी थिएन’ भनी रक्षात्मक अभिव्यक्ति दिए । उनी ‘गलत बिफ्र’ मा बोले । जहाजलाई मौसमबारे आधिकारिक जानकारी दिने मुख्य अनि आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा भर परेको भए गृहमन्त्री विवादमा सायदै तानिने थिए । नख्खुको उक्त घटनास्थलमा उद्धारका लागि हेलिकोप्टर पनि पठाउन सकिन्थ्यो । विमानहरूको सूचना व्यवस्थापन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट डिर्पाटमेन्टद्वारा जारी ‘एरोनटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी)’ ले जारी गरेको अन्तर्राष्ट्रिय नियमअनुसार, हेलिकोप्टर चार्टर उडानका लागि ५ हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, विशेष परिस्थितिमा न्यूनतम १ हजार मिटर परसम्म कुनै वस्तु वा प्रकाशलाई पाइलटले स्पष्ट चिन्न सक्ने भिजिबिलिटी भएमा हेलिकोप्टरलाई विमानस्थलले ‘स्पेसल भीएफआर’ उडान अनुमति दिन सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक रिन्जी शेर्पा बताउँछन् । ‘काठमाडौंलगायत कन्ट्रोल्ड विमानस्थलमा हेलिकोप्टरलाई १ हजार मिटर भिजिबिलिटीमा स्पेसल भीएफआर उडान अनुमति दिन सकिने प्रावधान छ,’ निर्देशक शेर्पाले भने । एआईपीले पनि न्यूनतम १ हजार मिटर अर्थात् १ किमि परसम्म पाइलटले देख्न सक्ने अवस्थामा हेलिकोप्टर उडान खुलाउन सकिने अधिकार विमानस्थलमा रहेको टावरका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई दिएको छ । जहाजलाई मौसमका बारेमा आधिकारिक जानकारी दिने मुख्य अनि आधिकारिक निकाय हो, जल तथा मौसम विज्ञान विभाग । यसको प्रमुख उद्देश्य प्राकृतिक प्रकोप न्यूनीकरण गर्न अनि सर्वसाधारणको जीउज्यान तथा सम्पत्ति जोगाउने रहेको छ । ६२ वर्षअघि स्थापना भएको यो संस्थाले जलविज्ञान र मौसमसम्बन्धी जानकारी समयमै वितरण गर्नुपर्छ । जहाज उड्न मिल्ने भिजिबिलिटी छ/छैन भन्ने मुख्य जिम्मेवार निकाय यही हो । अत्याधिक वर्षाको सम्भावना, शीतलहर, सहरहरूको पूर्वानुमान, हुस्सु कुहिरोको पूर्वानुमान, हिमपात आदिबारे यसले अहिले मौसमी चेतावनी ‘अलर्ट’ पनि जारी गर्छ । मौसम विज्ञानविज्ञ डा. जनकलाल नायभाका अनुसार २०२४ सालताका उड्ने नेपाली जहाज भारतको कोलकत्तामा रहेको सप्लिमेन्ट्री मेट्रोलजिकलको मौसम पूर्वानुमानमा भर पर्थे । भारतीय मेट अफिसरहरूले नै काठमाडौं विमानस्थलमा रहेर ‘इनरुट फरकास्ट’ र मौसमी सेवा दिन्थे । तर अहिले मौसमी सूचनामा भारतमाथिको मात्रै निर्भरता छैन । नेपालले वायुमण्डलमा हावापानीको अवस्थाबारे जानकारी लिन राडार, ह्वेदर क्यामेरा, आधुनिक उपकरण, सूचना केन्द्र स्थापना गरेको छ । यसबाहेक जाडोयाममा काठमाडौं उपत्यकामा ३ हजार फिट उचाइसम्म हट–एयर बेलुन उडाएर हावाको चाप, दिशा, बादलको अवस्था आदिबारे सेन्सरमार्फत जानकारी लिन पनि थालेको छ ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार