स्कुलबसको ठक्करबाट कावासोतीमा २२ महिने बालकको मृत्यु

शुक्रबार, असोज १८, २०८१

नवलपुरको कावासोतीमा स्कुलबसको ठक्करबाट एकजना बालकको ज्यान गएको छ।  कावासोती– १ छहारीचोक भित्री सडकखण्डकाे फलफूलचोकमा आज बिहान गण्डकी बोर्डिङ स्कुलको ना.१क ५८१७ नम्बरको बसले कावासोती– १ छहारीचोक निवासी यम पौडेलका छोरा २२ महिने बालक सम्राट पौडेललाई ठक्कर दिएको हो । कोइलापानीबाट स्कुलका बालबालिकालाई ल्याउँदै गर्दा सडकमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि नवलपुर अस्पताल कावासोती ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। ठक्कर दिने बस र बसचालक प्रहरी नियन्त्रणमा छन्। त्यसैगरी, गएराति कावासोती– ३ पुरानो कावासोतीमा मोटरसाइकल र स्कुटी एक–आपसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बा. प्र. ०२–०४९ प २६६६ नम्बरको मोटरसाइकल र ना.३८प ७९१६ नम्बरको स्कुटी ठक्कर खाँदा तीनजना घाइते भएका हुन्। दुर्घटनामा परी मोटरसाइकलचालक बाँकेको खजुरा– २ निवासी २७ वर्षीया सन्जु विक, स्कुटीचालक कावासोती– १४ त्रिभुवनटार निवासी ४० वर्षीया राधा महतो र स्कुटीपछाडि सवार २९ वर्षीया जमुना थापा घाइते भएका हुन् ।  उनीहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार