एक वर्षमा ३ हजारले लिए एनआरएन नागरिकता

शुक्रबार, असोज १८, २०८१

काठमाडौं । एक वर्षको अवधिमा करिब तीन हजारले गैरआवासीय नेपाली नागरिकता लिएको पाइएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दुई हजार ९४७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । एक हजार ८६६ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने संख्या २३७ मात्रै थियो । गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको संख्या बढेको हो । नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भए तापनि त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो । नेपाल कानून आयोगले गत भदौ २७ गते प्रकाशित गरेको ‘गैर आवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कार्यान्वयन सम्बन्धी अध्ययन’ प्रतिवेदन अनुसार यस अवधिमा ६९ जिल्लाबाट गैर आवासीय नेपाली नागरिकता जारी भएको छ । जिल्ला प्रशासन कार्यालयहरूबाट गैरआवासीय नेपाली नागरिकता लिनेहरू र नागरिकता त्याग गर्नेको संख्या अद्यावधिक भइरहने भएकाले यो संख्या अझै बढी हुन सक्ने जनाइएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार