सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । खानेपानीको पाइप बिछ्याउँदा आफूले निर्माण गरेका सहरी सडक जथाभावी खानेको भन्दै ललितपुर महानगरपालिकाले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको कामप्रति आपत्ति जनाएको छ । ललितपुर महानगरपालिकाले खानेपानी लाइन सुधार र विस्तार गर्ने कार्य गर्नुअघि महानगरसँग अनिवार्य स्वीकृति लिन पनि आयोजनालाई सचेत गराएको छ । महानगरको वडा नं ४ मा निर्माण भएका सहरी सडकको अनुगमन गर्ने क्रममा त्यस क्षेत्रको सडक जथाभावी खनेको पाएपछि महानगरले आयोजनालाई पत्राचार गरेर सचेत गराएको हो । भनिमण्डलदेखि पट्टिपाचोक सडक र चर्च जाने सडक आयोजनाले जथाभावी खनेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वको अनुगमन टोलीले निर्माण सम्पन्न भएका र निर्माण भइरहेका सडकको अनुगमन गरेको थियो । उक्त टोलीमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रुद्र गौतम, वरिष्ठ इन्जिनियर रामरतन शाहलगायत थिए ।
आयोजनालाई महानगरले लेखेको पत्रमा भनिएको छ, ‘खनिएको सडकको गुणस्तरीय मर्मत, लेन मार्किङ र सडक सतहमा रहेको धुलो पुरै हट्ने गरी सरसफाई कार्य अबिलम्ब गरी अब उपरान्त महानगरको पूर्वस्विकृतिमा मात्रै खानेपानी लाइन मर्मत र विस्तार गर्न गराउन जानकारी गराइन्छ ।’ ललितपुर महानगरपालिकाको निर्माण गरेका शहरी सडकहरु अन्यत्रको भन्दा भिन्न छ । अन्यत्रको तुलनामा यी सडक बलियो भएको बताउँछन् महानगरप्रमुख चिरीबाबु महर्जन । जथाभावी सडक खन्दा सडक छिटो बिग्रने महानगरको भनाई छ ।