तिहारपछि केयरगिभरहरू इजरायल जान पाउने, सुरक्षा चुनौती थपिने डर

शुक्रबार, असोज १८, २०८१

काठमाडौं । लक्की ड्रमार्फत छानिएका केयरगिभरहरू तिहारपछि इजरायल जान पाउने भएका छन् । इजरायलस्थित पीबाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची असोज १३ गते वैदेशिक रोजगार विभागलाई पठाएको थियो । विभागले सूची पाएसँगै अन्य प्रक्रिया अगाडि बढाइएको विभागका निर्देशक गिरिराज ज्ञवालीले बताए । विभागले अब पीबाबाट छनौट भएर आएका दुई हजार ११२ जनाको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाउनेछ । स्वास्थ्य परीक्षण गराएपछि त्यसको विवरण पुनः पीबालाई पठाइने र पीबाट ठिक छ भन्ने जवाफ आएपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) का लागि पठाइने निर्देशक ज्ञवालीले बताए । यो सबै प्रक्रिया सकिएर श्रमिकहरू मंसिरसम्ममा इजरायल उड्न पाउनेछन् । ‘मेडिकल गरेर त्यसको सूची पीबालाई पठाउँछौँ । पीबाले ‘ओके गो टु पीडीओटी’ भन्यो भने त्यसपछि हामी सीमित व्यक्तिलाई पीडीओटीका लागि पठाउँछौँ,’ निर्देशक ज्ञवालीले भने । पीडीओटी सकिएपछि पुनः पीबालाई पत्राचार गरिनेछ । त्यसपछि इजरायलस्थित रोजगारदाताकहाँ पठाइनेछ । रोजगारदाताले कामदारसँग करार सम्झौता गरेर पठाउनेछन् भने रोजगारदाताले नै कामदारको भिसा शुल्क तिरिदिनेछन् । त्यसपछि विभागले कामदारको भिसाका लागि नेपालस्थित इजरायली राजदूतावासमा पठाउनेछ । दूतावासबाट भिसा लागेर आएपछि कामदारलाई इजरायल जाने बाटो खुल्नेछ । यो सबै मंसिरको दोस्रो हप्तासम्ममा पुरा हुने निर्देशक ज्ञवालीको भनाइ छ । जसको पहिला भिसा लागेर आउँछ उनीहरूले नै पहिला जान पाउने उनको भनाइ छ । 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार