सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण गरेका छन् । आइतबार प्रधान्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफुहरु लागिपरिरहेको बताए । उनले भने,‘मेरो लागि आज ऐतिहासिक दिन हो । किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ । सुखद् र गौरवको विषय हो । यसलाई समृद्ध बनाउनु पर्छ । त्यसको लागि हामी लागि परेका छौं ।’ उनले आफ्ना पाँचवटा बुँदाहरु लक्ष्यको रुपमा सुनाउँदै त्यसलाई जसरी पनि पूरा गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौं । छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायीक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन् ।’ उनले आफूले पहिले पनि राज्यको चौथो अंगको रुपमा काम गरेको भन्दै अब पनि त्यही अनुरुप काम गर्ने बताए ।
प्रधानन्यायाधीश राउतले लिए शपथ यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका थिए । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिती रहेको थियो ।