सोसल मिडिया
Contact Us
युनिकोड
चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा १२७ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँबराबरको विद्युतीय भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले साउनमा सोबराबरको विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) भएको देखाएको हो । साउनमा १३ करोड ५६ लाख ३८ हजारभन्दा बढी संख्यामा डिजिटल कारोबार भएको छ । रकममा मासिक तथ्यांकका आधारमा यो हालसम्मको उच्च हो । यसअघि असार ०७९ मा ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँको डिजिटल पेमेन्ट भएको थियो । त्यसपछि घटेको डिजिटल पेमेन्टले असार ०८१ मा नयाँ रेकर्ड राखेको थियो । गत असारमा ८८ खर्ब ३३ अर्ब रुपैयाँबराबरको डिजिटल पेमेन्ट भएको थियो । त्यसलगत्तै साउनमा पनि यसले नयाँ रेकर्ड राखेको हो । गत आवको साउनमा भने ४३ खर्ब ६२ अर्ब रुपैयाँको यस्तो भुक्तानी भएको थियो । गत आवमा भने ५९२ खर्ब १५ अर्ब रुपैयाँबराबरको यस्तो भुक्तानी भएको थियो । समीक्षा महिनामा रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस)मार्फत मात्रै १०८ खर्ब तीन अर्ब रुपैयाँ भुक्तानी भएको छ । संख्याका आधारमा त्यसबाट ७४ हजार तीन सय ८० वटा कारोबार भएको छ । विशेष गरी ठुला रकमको भुक्तानी चेक आरटिजिएसबाट हुन्छ । २० लाख रुपैयाँभन्दा बढी रकमको भुक्तानी गर्न आरटिजिएस प्रयोग गरिन्छ । असार मसान्तमा सरकारले दिएको चेक साउनमा पनि साटिन्छ । साउनमा पनि सरकारको खर्च उच्च थियो । साथै, आपूर्ति शृंखलामा रहेका सेवाप्रदायकलाई भुक्तानी दिँदा पनि यस्तो कारोबार देखिएको छ । बढी डिजिटल भुक्तानीमा इलोक्ट्रोनिक चेक क्लियरेन्स (इसिसी) दोस्रो नम्बरमा छ । साउनमा इसिसीबाट पाँच खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । साउनमा त्यसबाट १० लाख नौ हजारभन्दा बढी संख्यामा कारोबार भएको छ । तेस्रो नम्बरमा रहेको कनेक्ट आइपिएसबाट पनि पाँच खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको भनाइ छ । साउनमा त्यसबाट ६८ लाख हजारभन्दा बढी संख्यामा कारोबार भएको छ ।