सोसल मिडिया
Contact Us
युनिकोड
बाढीपहिरोले तहसनहस भएको सिन्धुपाल्चोक निरीक्षणमा गृहमन्त्री रमेश लेखक १० दिनपछि सदरमुकाम चौतारा आइपुगेका छन् । रक्षामन्त्री मानवीर राई, भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित हेलिकाेप्टरमा आएका सरकारी अधिकारीले जिल्ला विपत् व्यवस्थापन समिति र राजनीतिक दलसँग अन्तर्क्रिया गरेर क्षति, उद्धार र राहतबारे जानकारी लिएका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापा र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ११–१२ गतेको बाढीपहिरोले पुर्याएको मानवीय तथा भौतिक क्षतिको विवरण गृहमन्त्रीलाई दिएका छन्। सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा बेलिब्रिजको व्यवस्थापन सकभर चाँडो गर्ने आश्वासन दिए। विपतपछि ढिला गरेर आएको भन्दै राजनीतिक दलका प्रतिनिधिले सरकारको आलोचना गरेका थिए । गृहमन्त्री लेखकले तीनवटै सुरक्षा निकायको प्रशंसा गर्दै उद्धार, राहत र पुनर्स्थापना कार्यमा लाग्न निर्देशन दिए । उनले जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान, क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए। उनले अगाडि भने, ‘तपाईंहरूले जति चाँडो विवरण पठाउनुहुन्छ त्यसको तीन दिनभित्र सरकारले राहत प्रदान गर्छ ।’ गृहमन्त्री लेखकले सिन्धुपाल्चोकमा कुनकुन स्थानीय तहलाई विपतग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने हो सबै पक्षसँग छलफल गरेर न्यायोचित विवरण पठाउन प्रजिअलाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने चार सांसदले भोटेकोशीलाई मात्रै विपतग्रस्त भनेर सरकारबाट भएको घोषणा अन्यायपूर्ण रहेको भनेर प्रजिअ थापालाई ज्ञापनपत्र बुझाएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भारतबाट २० वटा बेलिब्रिज ल्याउन लागेकाले तातोपानीमा छिटो बेलिब्रिज ल्याउने सरकारको योजना रहेको बताए। सिन्धुपाल्चोक जिल्लालाई बर्सेनि प्राकृतिक विपत्तिले क्षति पुर्याउने गरेको छ । यसपालि १० जनाको मृत्यु, दुई बेपत्ता र ठुलो परिमाणमा भौतिक क्षति भएको छ । तातोपानी क्षेत्र बन्द रहेकाले चीनको खासामा रहेका नेपाली व्यापारीको अर्बाैँ मूल्यको सामान नोक्सान हुने अवस्था छ ।