कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउने, आज शिलान्यास

शुक्रबार, असोज २५, २०८१

काठमाडौँ । सत्ताको प्रमुख घटक नेकपा एमालेले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको उनले बताए । आज शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिने उनले बताए । त्यस्तै बैठकले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई आह्वान गरेको छ। उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रूपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरूप तयारी गर्न आह्वान गरेको बताए । पार्टीले वडा दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेको छ। पार्टीले केन्द्रीय सदस्य रामश्रवण बस्नेत र भीम केसीको आमाको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार