सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुरुमा ११ जिल्लाका ४१ पालिकालाई घोषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भई आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए। असोज १८ गतेदेखि तीन महिनाका लागि बाढीपहिरो प्रभावित ७१ पालिकालाई सङ्कटग्रस्त घोषणा गरी राजपत्रमा प्रकाशित गरिएको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ती सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो । संकटग्रसत घोषणा गरिएको स्थानीय पालिकाहरूलाई उच्च प्राथमिकतामा राखेर राहत सामग्री वितरण तथा पुनः स्थापनको काम भइरहेको छ । ओखलढुङ्गाका चार, पाँचथरका दुई, उदयपुरको एक, सोलुखुम्बुका तीन, खोटाङका तीन, इलामको एक, काभ्रेपलाञ्चोकका ११, ललितपुरका चार, दोलखाका तीन, सिन्धुलीका चार, सिन्धुपाल्चोकका पाँच, मकवानपुरका तीन, धादिङका पाँच, रामेछापका आठ, चितवनका तीन, रौतहटका पाँच, महोत्तरीका दुई, सर्लाहीका दुई, सप्तरी र सिरहाका एक–एक पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गत असोजको १० देखि र १२ गतेको भारी वर्षासँगै आएको बाढीपहिरो तथा डुबानबाट करिब ५० अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विपद्मा परेर हालसम्म दुई सय ४६ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । क्षतिको विवरण सङ्कलन गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा समिति बनेको छ ।