बाढीपहिरोले पुर्‍याएको क्षतिमा पौने ४ अर्बको बिमा दाबी

आइतबार, असोज २७, २०८१

काठमाडौँ । असोज दोस्रो साता (१० गतेदेखि) परेको अविरल वर्षाका कारण भएको क्षतिका कारण बुधबारसम्म करिब ३ अर्ब ८१ करोड ७९ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ । एक हजार ३ सय ७४ दाबी संख्याबाट रकम मागदाबी गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ । बाढी–पहिरोबाट भएको क्षतिका कारण करिब साढे सात अर्ब रुपैयाँ बराबरको बिमा दाबी पर्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ । बिमा कम्पनीहरूको प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाका आधारमा दुई हजार पाँच सय ५६ आवेदनबाट सात अर्ब ४० करोड ५१ लाख रुपैयाँको दाबी पर्न सक्ने नेपाल बिमा प्राधिकरणले जनाएको छ । दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्ने सम्भावना रहेको छ । परेका दाबीमध्ये केही भुक्तानी पनि भइसकेका छ । गत बुधबारसम्म ७० वटा दाबीउपर ७८ लाख ६५ हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । यस्तै, गत बुधबारसम्म परेका दाबीमध्ये इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमालेखअन्तर्गत ९६ करोड ८१ लाख रुपैयाँ, कृषि बाली बिमाअन्तर्गत ९५ लाख ६० हजार, पशुपन्छी बिमाअन्तर्गत ६३ लाख ३३ हजार, मोटर बिमा (निजी) अन्तर्गत १० करोड ९७ लाख ८२ हजार, मोटर बिमा (सार्वजनिक) अन्तर्गत ५ करोड ८२ लाख ७४ हजार, सम्पत्ति बिमाअन्तर्गत २ अर्ब ६५ करोड २३ लाख, सामुद्रिक बिमाअन्तर्गत ८४ लाख ९ हजार र अन्य (विविध) बिमालेखअन्तर्गत ५१ लाख ९५ हजार रुपैयाँ बराबरको दाबी कम्पनीहरुमा परेको छ । प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी दाबी वाग्मती प्रदेशमा छ । यस प्रदेशमा हालसम्म एक हजार एक सय ५४ वटा दाबी संख्यामार्फत ३ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ बराबर दाबी देखिएको छ । धेरै दाबी पर्ने प्रदेशको दोस्रो नम्बरमा कोशी छ । यस प्रदेशमा एक सय ४८ वटा दाबी संख्यामार्फत करिब ८ करोड ५८ बराबरको दाबी परेको छ । कोशीपछि क्रमशः मधेश, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै दाबी परेको प्राधिकरणको तथ्यांक छ । विपद्का बेला परेका दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी गर्न नियामक निकाय नेपाल बिमा प्राधिकरणले निर्देशन दिएको छ । बाढी तथा पहिरोबाट भएको क्षतिको बिमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने प्राधिकरणले भनेको हो । हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानीसम्बन्धी कागजातमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिसलगायत कागजात आवश्यक नपर्ने व्यवस्था मिलाउन पनि प्राधिकरणले कम्पनीहरुलाई निर्देशन दिएको छ । अन्य कागजातहरूको सूचीसमेत छोटो पार्न र बिमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न पनि प्राधिकरणले भनेको छ । हालको विशेष परिस्थितिमा बिमा दाबी बिस्तारै थपिँदै जान सक्ने र बाढी तथा पहिरोका कारण बिमालेख हराएको पनि हुन सक्नेतर्फ ध्यान दिन पनि बिमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको छ । असोज १० गते बिहीबार राति, शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको विपद्बाट खानेपानी, सडक, ऊर्जा र सिँचाइका पूर्वाधारमा ११ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार