दशैंको टीका र आशीर्वाद लिनेक्रम जारी

सोमबार, असोज २८, २०८१

काठमाडौं । आश्विनशुक्ल द्धदशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आज (सोमबार)पनि जारी छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजन कहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर टिका र आशीर्वाद लिने गर्दछन् । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताएको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति भएपछि देखि भने नवदुर्गाको प्रसाद लगाउने क्रम जारी राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी र्दिए ।  निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका तथा जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ । यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो । महाअष्टमी एवं महानवमीका दिन शुक्रबार राजधानीमा चहलपहल कम देखिएको थियो । विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले चहलपहल बढी देखिन्छ । राजधानीमा चहलपहल बढी देखिएकाले गत वर्षजस्तो सार्वजनिक यातायात पाउन कठिन नभएको मान्यजन कहाँ आशीर्वाद लिन हिँडेकाहरूले बताए । 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार